रामकृष्ण कडेल,
असोज २१ गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाद्धारा ल्याइएको कस्तो छ आमा कार्यक्रमको बुधवार शुभारम्भ भएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना भण्डारी र वडाध्यक्ष राम बहादुर पल्लिले बलिथुम स्वास्थ्य चौकीमा संचालनमा आएको बर्थिङ्ग सेन्टरमा प्रसुती सेवा लिनु भएको आमा सिता परियारलाइ विषेश सम्मान गर्दै टिका माला सहित गाउँपालिकाको कोशेली उपहार एक क्यारेट अण्डा, आयोडिन नुन, साबुन , नङ कटर प्रदान गरेर शुभारम्भ गर्नुभएको थियो ।वडा नं १ का वडाध्यक्ष रामबहादुर पल्लीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिना भण्डारीले स्वस्थ गर्भवती आमा र स्वस्थ बच्चाको लागि गुल्मीदरबार गाउँपालिकाले कस्तो छ आमा कार्यक्रम संचालन गरेको हुँदा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनको लागि सबैले सहयोग गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिधि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाले गर्भवती आमाको स्वास्थ्य सुरक्षा र सरसफाई¸ संस्थागत प्रसुती¸ पोषण सेवा र संस्थागत प्रसुतीलाई प्रोत्साहन गर्दै सुखी र स्वस्थ नागरिक निर्माणको लागि यो अभियान संचालन गरेको हुँदा हरेक गर्भवती महिला र परिवारले पालिकाको यो अभियानलाई सार्थक तुल्याउनको लागि अनुरोध गर्नुभएको थियो । बिषेष अतिथि एवम् प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बलिथुम स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी मिना गाहालाई गर्भवती महिलाहरुसँग नियमित सम्पर्कमा रही उहाँहरुको स्वास्थ अवस्थाको बारेमा जानकारी लिन सहज गराउने उद्देश्यानुसार एक थान स्मार्ट मोबाइल सेट हस्तान्तरण गर्नु भएको थियो । विषेश अतिथि स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्भ जाचको प्रोत्साहन रकम र प्रसुति यातायात खर्च गरि रु २८०० नगद प्रदान गर्नुभएको थियो । जनप्रतिनिधि¸ स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी¸ स्वास्थ्यकर्मी¸महिला स्वास्थ्य स्वयंसेवीका र २४ जना गर्भवती महिलाहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरी कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य अधिकृत अर्यालले प्रसुति अवस्था, नवशिशु तथा बाल्यावस्थामा ख्याल गर्नुपर्ने कुराहरु र अपनाउनु पर्ने सावधानी हरुको बारेमा स्वास्थ्य चौकीको फोकल ब्याक्तिले वारम्बार कस्तो छ आमा तपाईं लाइ भनि प्रत्येक महिना गरि कम्तिमा ३० पटक सोध्ने कुरा बताउनु भयो ।
महिला गर्भवती भएको खबर पाउनेबित्तिकै जनप्रतिनिधिसहित स्वयंसेविका र स्वास्थ्यकर्मी उनको घरमै पुगेर बधाइ सँगै गर्भावस्थामा ख्याल गर्नुपर्ने विषयमा सुझाव र सल्लाह सहित गर्भवतीलाइ सन्देशमूलक ऐना, बाबुलाई गर्भको बच्चाले लेखेको चिठी बुझाएर घरमा गर्भवतीको लोगो अंकित हरियो झण्डा टाँसिदिने कार्य योजना रहेको बताउनु भयो । अर्यालले अगाडि भन्नु भयो गर्भवतीको घरबाट फर्किने बेला गर्भवतीलाई छिट्टै टिडी खोप लगाउने र चौथो महिनामा गर्भजाँचका लागि आउने सल्लाह दिइने छ । त्यसपछि हरेक महिना फोकल पर्सनले गर्भवतीलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझेर आवश्यक सल्लाह दिइनेछ । गर्भवती महिलाले चौथो, छैठौं, आठौं र नवौं महिनामा गर्भ जाँच गराएपछि गर्भवतीलाई ३० वटा अन्डा, आयोडिन नुनको पोका, नुहाउने र धुने साबुन, नङकट, आइरन र क्याल्सियमसहितको गाउँपालिकाको कोसेली प्रदान गर्ने पनि अर्यालले बताउनुभयो । प्रसूति व्यथा लाग्नेबित्तिकै फोकल पर्सनलाई फोन गर्ने, स्वास्थ्य संस्थामा स्थापित बर्थिङ्ग सेन्टरमा लिएर आउने,सुरक्षित प्रसूति सेवा प्रदान गरिने , सुत्केरी तथा नवशिशु जाँच गरेर आमा र बच्चालाई न्यानो झोला तथा नगद २८ सय रुपैयाँ प्रदान गरिने छ । सुत्केरी भएको तेस्रो दिनमा जनप्रतिनिधि , स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविका माइतिको रुपमा सुत्केरिलाइ घरमै भेट्न पुगेर सुत्केरि र नव शिशु को स्वास्थ्य परिक्षण सङ्गै कार्यक्रममार्फत कोसेली प्रदान गरिने ,
सुरक्षित प्रसूतिपछि स्तनपान, खोप र तौललाई यो कार्यक्रमले विशेष जोड दिएको बताउनु भयो । नियमित सम्पर्क गर्दै प्रत्येक महिना तौल लिन सल्लाह दिइ सातौ महिनादेखि बच्चालाइ तौल लिन आउदा प्रोत्साहन स्वरुप अण्डा प्रदान गरिने पनि अर्यालले बताउनु भयो । वडा सदस्य सुर्य बहादुर कुवरको स्वागत र बलिथुम स्वास्थ्य चौकी प्रमुख दिल बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।