पौष १६
गाई काटेको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाभारत गाउँपालिका–१ स्थित् आरुबोटेका बेलबहादुर योन्जन, सुब्बा जिम्बा, रत्न बहादुर जिम्बा, श्रीलाल जिम्बा, कान्छारामा जिम्बा र नयाँ जिम्बा रहेका इलाका प्रहरी कार्यालय गोकुलेले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोकुलेका इन्चार्ज राजकुमार पटेलका अनुसार पक्राउ गरिएका ६ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा पठाएको छ। ‘६ जनालाई मासुसहित पक्राउ गरिएको भए पनि मासु गाई नै हो या अन्य जनावरको हो भन्ने पुष्टि भएको छैन,’ उनले भने, ‘त्यसबारे जाँच गरेर यकिन गर्नको लागि मासु र छाला जिल्लामा पठाएको छ।’
त्यस्तै, काटिएको भनिएका गाई जिउँदा हुँदा नै काटिएको हो वा मरेपछि काटेको हो भन्ने बारे पनि जाँच प्रहरीले जनाएको छ। उनीहरुलाई गाई काटेको सुराकीका आधारमा प्रहरीले करिब ३० किलो मासुसहित पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो।
तर उनीहरुले स्थानीय टीका बहादुर रानाको गाई भीरबाट लडेर केही दिनछि मरेका र साहुकै आग्रहमा काटिएको भन्दै आरोप खण्डन गरेका छन्। पक्राउ गरिएकामध्ये एकले भने, ‘गाईधनीले नै खाल्डो खनेर पुर्नुभन्दा काटेर मासु लैजानु भनेर बोलाएपछि हामी गएको हो।’
यसबारे गाईधनी रानासँग बुझ्न खोज्दा उनीसँग भने सम्पर्क हुन सकेन। त्यस्तै, पक्राउ परिएकाहरु कार्यालयमा आइपुगेपछि घटनाबारे अनुसन्धान भएपछि मात्रै सत्य पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न, मार्न नपाइने उल्लेख छ। उक्त कानुनविपरीत काम गरे ३ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ।