१९ पुस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता सम्बन्धी विवादबारे निर्वाचन आयोगले दुबै समूहलाई छुट्टा–छुट्टै पत्र पठाएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम दलको नाम, छाप वा चिन्ह सम्बन्धी विवादमा ३० दिनभित्र आधार र प्रमाण सहित दाबी पेश गनुपर्ने व्यवस्थाबारे जानकारी मात्र गराइएको पत्र पठाइएको छ ।
तर, अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाललाई सोही व्यहोराको जानकारी दिंदै सात दिनभित्र जवाफ उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो ।
एउटा पक्षलाई जानकारी मात्र र अर्को पक्षलाई सातदिन भित्र जवाफ पठाउन आयोगले निर्देशन दिएको हो । ऐनको परिच्छेद ९ मा दलको मान्यता सम्बन्धी विवाद निरुपणको व्यवस्था छ । जसको दफा ४३ ले दुई वा दुईभन्दा बढी दलबीच नाम, चिन्ह ललगायतका विषयमा विवाद उत्पन्न भएमा विवादको निरुपण आयोगले गर्ने उल्लेख छ ।
त्यसैगरी दफा ४४ मा दलको नाम, छाप, झण्डा वा चिन्हबारे विवाद भएमा वा दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको विवाद भएमा आधिकारिकता दाबी गर्नेले दलको ४० प्रतिशत केन्द्रीय सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगमा प्रमाण पेश गर्नुपर्ने उल्लेख छ ।
एउटै विवादमा दुई पक्षलाई फरक–फरक पत्र पठाइनुलाई प्रचण्ड–माधव समूहले शंकाको दृष्टिकोणले हेरेका छन् ।