१ माघ, । बागलुङ ।
गत भदौमा भुजीखोलामा आएको बाढीपहिराले ढोरपाटन नगरपालिका–९ का हुमबहादुर बिकका श्रीमती र बहिनीलाई बगायो । श्रीमती कुमारीको शव भेटियो, बहिनी खिमा अझै बेपत्ता छिन् ।
घर, पसल, खेतीपाती र गाईभैंसी सबै बगे । अहिले उनको नाउँको जग्गाजमिन केही पनि बाँकी छैन । ६ र ८ वर्षका २ छोरासहित बिक छिमेकीको कोदोबारीमा स्याउलाको छाप्रो बनाएर बसेका छन् । छाप्राभित्र छिमेकीले दिएका थोत्रा ओड्नेओछ्याउने कपडा छन् । रेडक्रसलगायत संस्थाले दिएका भाँडाकुडा छन् । त्यहीं पकाउँछन्, त्यहीं सुत्छन् । दुई छोराले पढ्नेलेख्ने भनेको घाम लागेका बेला मात्रै हो । ‘असोजयता पानी परेको छैन, त्यसैले छाप्रामा पराल बिछ्याएर न्यानो भएको छ,’ बिकले भने, ‘हिउँझरी पर्यो भने कता जाने, अझै निधो छैन ।’ चिसामा कठ्यांग्रिँदै बस्नुपरेको उनले गुनासो गरे ।