बागलुङ, ५ पुस
गलकोटमा ६ घरमा तोडफोड भएको छ । गलकोट नगरपालिका वडा नम्बर २ बुङ्खानी र थानाका ६ घरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिए ।
गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेको घरसहित ६ घरमा तोडफोड भएको प्रहरीले जनाएको छ । चितवन बस्ने खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे, जापान बस्ने ताराप्रसाद गैरेको घरमा तोडफोड भएको प्रहरीको भनाई छ ।
सोमबार स्थानीयले खबर गरेपछि गरेपछि प्रहरी उक्त गाउँमा पुगेको थियो । गाउँमा कोही नबस्ने खाली घरहरुमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
घरमा कोही नस्ने हुँदा सामान के चोरी भयो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । प्रहरीले यसबारेमा अनुसन्धान गरि रहेको सूचना अधिकारी भण्डारीले बताएको सहकर्मी सुरेश छन्त्यालले खबर पठाउनु भएको छ ।