माघ २०
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ धुमीकी पार्वती वि.कले गत पौष ५ गते ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनुभयो । माइत जान भनेर हिँडेकी उहाँ फर्केर कहिले घर नआउने गरी सधैका लागि अस्ताउनुभयो । दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएकी पार्वतीको मृत्यु पछि परिवारमा ठुलो बज्रपात आइलाग्यो ।
उहाँका श्रीमान गोपाल बिक पहिले देखि मानसिक विरामी हुनुहुन्थ्यो । उहा लाई श्रीमतीले औषधि उपचार र रेखदेख गर्दै आउनुभएको थियो । श्रीमतीको मृत्यु पछि २ बच्चाको लालनपोषण गर्ने जिम्मा तिनै विरामी गोपाल माथि आयो । यसैपनि पहिलेदेखि घर खर्च विकले मेलापात गरेर गर्दै आउनुभएको थियो ।
श्रीमती गुमाउनु पर्दाको असह्य पीडा र आर्थिक अभाव बढ्दै जान थालेपछि गोपाललाई मानसिक रोगले झनै च्याँप्न थाल्यो । रेखदेख गर्दै आउनुभएकी श्रीमतीको मृत्युपछि उहाँलाई समयमा औषधी खुवाउने मान्छे भएन । फलस्वरुप उहाको रोग झनै बल्झिँदै गयो । यही विविध पीडा सहन नसकेपछि गोपालले आफुले पनि माघ १३ गते आत्महत्या गर्नुभयो ।
आमा बुबाको न्यानो मायामा हुर्किने उमेरमा दुई अवोध छोराहरुले १ महिनाको अवधीमा बाबु आमा दुवै गुमाए ।
यसैपनि दैनिक जीवनयापन गर्न समेत कठिनाई भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यतिबेला ठुलो बज्रपात आईलागेको छ । मृतक दम्पतीका ५ र ८ वर्षीय दुई छोरा छन् । उनीहरुको अहिले बिचल्ली भएको छ । उनीहरुको लालनपोषण र पढाई खर्च जुटाउने मान्छे अव कोही छैन् ।
उनीहरुको रेखदेख गर्दै आउनुभएकी हजुरआमा पनि सुस्त श्रवणकी हुनुहुन्छ । उहाँ आफैलाई कसले सम्हाल्ने भन्ने बेलामा ती दुई अवोध बालकहरुको जिम्मेवारी काँधमा थपिएको छ । उहाँ राम्रोसगं बोल्न र काम गर्न सक्नुहुन्न ।
मुसिकोट नगरपालिका वडा नं ५ का वडासदस्य लालुराम अर्यालका अनुसार उनीहरुको सम्पत्तिको नाममा एउटा घर मात्रै छ । गरि खाने खेतबारी पखेरो छैन् । हुँदो हो पनि गरिखाने मान्छे नै दैवले खोस्यो । अर्यालले यो परिवारमा आईपरेको बज्रपातले सिगों गाउँनै पीडामा रहेको सुनाए ।
घरका दुई मुली मान्छेकै मृत्यु भएपछि अब यी बालकहरुको रेखदेख कसले गर्ने भन्ने भएको छ । अर्को तर्फ आर्थिक अभाव भएपछि दैनिक जीवन यापन कसरी चलाउने भन्ने पिरलो पनि थपिएको छ । उनीहरुले गाउँकै मालिका विद्या मन्दिर प्राविमा अध्ययन गर्दै आएका छन् ।
घरमा खाने अन्न छैन्, बच्चाहरुको विचल्ली हुन नदिन आफुले वडा कार्यालय र नगरपालिकामा कुरा राखेर सहयोगका लागि सक्दो पहल गर्ने वडा सदस्य अर्यालले बताए । त्यस्तै उनले देश विदेशमा रहने सम्पूर्ण नेपालीलाई सहयोग गर्न समेत अनुरोध गरे ।
सोही ठाउँकै सुरज भट्टराईले उनीहरुको उद्धारका लागि सहयोग अभियान चलाउन लागिएको बताए । धेरै थोरै जति भएपनि सहयोग गरेर यी बच्चाहरुको भविष्य उज्यालो बनाउने अभियानमा लाग्न उनले सबैसगं अनुरोध पनि गरेका छन् ।