२१ माघ, ।
पाल्पाको तिनाउ र रिब्दीकोटमा ट्रिपर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । तिनाउ गाउँपालिका–२, खुर्सानेमा लु ज्ञ ख ८९८७ नम्बरको ट्रिपर बुधबार बिहान दुर्घटना हुँदा चालक र सहचालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा रुपन्देही जिल्ला देबदह नगरपालिका–१०, का ४० वर्षीय मनोज घर्ती र कपिलबस्तु जिल्ला शिवराज नगरपालिका–९, बस्ने २० वर्षका श्रीराम थारु गम्भीर घाइते हुनुभएको छ । दुबैजनाको अहिले लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । तिनाउको दोभानदेखि कचल जाने क्रममा ट्रिपर अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
यस्तै रिब्दीकोट–२ जोर्तेमा लु २ ख ३५७१ नम्बरको ट्रिपर दुर्घटना हुँदा तानसेन–१४ का ३५ वर्षीय प्रकाश राना गम्भीर घाइते हुनुभएको छ । तानसेनदेखि अर्गलीतर्फ जाँदै गरेको ट्रिपर जोर्ते नजिकै सडकदेखि सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइते रानाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना बुधबार बिहान ४ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।