२१ माघ, ।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा गएको ७ महिनामा सवैभन्दा बढि ४८ आत्महत्याका मुद्दा दर्ता भएका छन् ।
प्रहरीमा दर्ता भएका १ सय ५१ मुद्दामध्ये ४८ वटा आत्महत्याका रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दर्ता भएका मुद्दाबाट हालसम्म ५१ वटा मुद्दा फस्र्यौट भइसकेको कार्यालयले जनाएको हो । तीमध्ये चार वटा मुद्दा फस्र्यौट हुने अवस्थामा रहेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर ७ महिनामा प्रहरीमा दर्ता भएका मुद्धा र मुद्धाहरुको अवस्थाको बारेका जानकारी गराइएको थियो ।
त्यस्तै भवितव्य ज्यानका १९ र फुटकर ज्यानका १४ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै बलात्कार तथा बलात्कार प्रयासका १३ मुद्धा दर्ता भएका छन् । जसमा बलात्कारका ७ र बलात्कार प्रयासका ३ वटै मुद्धा फस्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । त्यस्तै अभद्र व्यावहारका २१ मुद्धामा २० मुद्धा फस्र्यौट भएका छन् । आत्महत्या दुरुत्साहनका २ मुद्धानै फस्यौट भएका छन् । सवारी ज्यान मुद्धाको ५ मुद्धामा ३ र सवारी दुर्घटना भवितव्यका ४ मुद्धामा ३ मुद्धा फस्र्यौट भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
उनले गत पुस २६ गते महेन्द्र मावि अगाडि इस्मा ३ का १६ बर्षीय माधव पछाईलाई कुटपिट गर्ने तीन जना प्रतिव्यक्ति १ लाख धरौटी बुझाएर तारेखमा छुटेको बताए ।
आरोपित दुई जना नावालक भएकाले अविभावकको जिम्मा लगाइएको छ । उनीहरुबिरुद्ध जिल्ला अदालत गुल्मीमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता भएको थियो । उनले जिल्लामा चर्चामा आएका इस्मा छिनुवा, पराल्मी र हर्राचौरको घटनाका बिषयमा पनि गम्भिरताका साथ अनुसन्धान भइरहेको बताए । बिना प्रमाण कसैलाई पक्राउ गर्न नहुने भएकाले आफुहरु अनुसन्धानकै क्रममा रहेको श्रेष्ठको भनाई छ ।
त्यस्तै झारफुकको नाममा १ जनाको हत्या र २ जना घाइते बनाएको घटनाका आरोपित रामप्रसाद श्रेष्ठ र शान्तिला श्रेष्ठलाई तत्काल पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
गत माघ १२ गते बेलुका आफ्नै जेठानी ५९ बर्षीया श्यामला परियारलाई खुकुरी प्रहार गर्ने रेसुंगा नगरपालिका ७ की ४५ बर्षीया सिता परिवारलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।
१६ बर्षीया बालिकालाई भगाएर आफुसंगै राखेर बलात्कार गरेको आरोपमा इस्मा गाउँपालिका ४ का दिपक नेपालीलाई प्रहरी पक्राउ गरेको छ । अहिले अदालतबाट म्याद थप गरेर बलात्कार मुद्धामा कानुनी कारवाही अगाडी बढाएको सूचना अधिकारी पाण्डेयले बताए ।
पाण्डेयका अनुसार जिल्ला प्रहरी कार्यालयले पुस महिनासम्म सवारी कारबाहिबाट २६ लाख २१ हजार ५ सय राजस्व संकलन गरेको जनाएको छ । साउनमा २ लाख ७२ हजार ५ सय, भदौमा २ लाख ७९ हजार, असोज महिनामा ४ लाख २३ हजा ५ सय, कात्तिक महिनामा ५ लाख १२ हजार, मंसिरमा ५ लाख ७० हजार र पुसमा ५ लाख ६४ हजार ५ सय राजस्व संकलन भएको छ ।