माघ २९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्बोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने र कांग्रेसल कहिल्यै त्यस्तो काम नगर्ने बताएका छन्।
पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले भने, ’अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत।’
सभापति देउवाले कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने धारणा व्यक्त गरे।
फरक प्रसङ्गमा उनले कांग्रेसले आफ्नो विधानमा महिला, आदिवासी÷जनजाति, दलित, थारू, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक समुदाय सबैलाई उचित आरक्षणको व्यवस्था गरी सबैभन्दा समावेशी पार्टी बनेको बताए।
सभापति देउवाले पार्टीले गरेको समावेशी व्यवस्थाका बारेमा सबै समुदायको तल्लोस्तरमा पुगी सो बारेमा प्रचार गर्न र कांग्रेसको पक्षमा माहोल बनाउन नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।
कार्यक्रममा पार्टी उपभापति विमलेन्द्र निधिले सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्यविरुद्ध वडास्तरसम्म राष्ट्रव्यापी कार्यक्रम गरेको बताए। साथै उनले संविधानको व्यवस्थाविपरीत खोसिएको प्रतिनिधिसभा पुनःप्राप्ति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि संसद् पुनःस्थापना र निर्वाचन दुई बाटो रहेको बताए।
आफूहरु स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले अदालतमा विचाराधीन रहेको विषयलाई प्रभाव पर्ने गरी नबोल्ने स्पष्ट पार्दै उनले कांग्रेस संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा विभाग प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य सीता गुरुङ, पूर्वसांसद दिव्यमणि राजभण्डारी, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बराम, नेपाल आदिवासी जनजाति सङ्घका अध्यक्ष इन्द्रबहादुर गुरुङले कांग्रेसले आदिवासी जनजातिका मुद्दामा गरेको समावेशी व्यवस्था र पार्टीसँगको सम्बन्धका बारेमा धारणा व्यक्त गरेका थिए।