फाल्गुन ४
गुल्मी ।
गाउँमा स्वास्थ्यचौकीको भवन निमार्णका लागि गुल्मीका दुई युवाद्धारा पाँच रोपनी जग्गा दान, २०७८ माघ १ गते भित्र निर्माण सक्नेगरि सम्झौता
बेलायतमा रहेका गुल्मीका दुई युवाले गाउँमा स्वास्थ्यचौकीको भवन निमार्णका लागि पाँच रोपनी जग्गा दान गरेका छन्।
गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटको स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीय मोतीराज भण्डारी र तारानाथ भण्डारीले पाँच रोपनी जग्गा दान गरेका हुन्। हाल बेलायतमा बस्दैआएका भण्डारीद्वयले सात लाखमा जग्गा खरिद गरेर स्वास्थ्यचौकीको नाममा पास गरिदिएका छन्।
उक्त जग्गामा निर्माण हुनलागेको स्वास्थ्यचौकी भवनको गाउँपालिकाका अध्यक्ष द्रोर्णबहादुर खत्रीले शिलान्यास गरेका छन्। स्वास्थ्यचौकी भवनको शिलान्यास गर्दै अध्यक्ष खत्रीले जग्गा दान गरेर समाजमा उदाहरणीय काम गरेको बताए। पुस्तौ पुस्ताले उनीहरूको स्मरण गरिरहने भन्दै खत्रीले गाउँपालिकाको तर्फबाट आभार प्रकट गरे।
स्वास्थ्य सेवा गाउँपालिकाको पहिलो प्रथामिकता रहेको भन्दै खत्रीले भवन बनेपछि उपचारमा सहजता हुने बताए। भवन निर्माणको जिम्मा पाएको डि एण्ड डि पुष्पाञ्जली जेभीका प्रमुख सञ्जय पन्थीले तोकिएकै समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्तगरे। उक्त भवन एक करोड ५७ लाख रुपैयाँको लागतमा निर्माण गर्न गाउँपालिका र डि एण्ड डि पुष्पाञ्जली जेभीबीच माघ १९ गते सम्झौता भएको थियो।
आगामी २०७८ साल माघ १ गते भित्र भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरि सक्नुपर्ने सम्झौता भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए।