सुरेश छन्त्याल
फागुन ११
लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका पाण्डबखानीबासी पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन । केन्द्रिय विद्युतको आगमनले मन नै उज्यालो बनाएको छ । भौगोलिक विकटता सँगै लघु जलविद्युत मर्मत सम्भारमा पटक पटक हुने समस्याले गर्दा लामो समय देखि हैरानी खेप्नु परेको स्थानीय व्यवसायीक देव नारायण श्रीसले बताउनु भयो। स्थानियले सामूहिक लगानीमा निर्माण गरेको लघु जलविद्युतमा भोल्टेजको क्षमता कम हुनुका साथै नियमित नहुँदा उद्योग, ब्यबसायमा समस्या झेल्दै आएकोमा अब भने यी समस्या हटेर जाने स्थानीय दिपक घर्तिले बताउनु भयो। ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो । विकट अनि दुरदराजका जनतालाई विद्युत सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उहाँको भनाई छ । आवश्यकता अनुरूप ट्रान्सफर्मर, पोल सँगै अन्य विद्युतिय सामाग्री व्यवस्थापन गरिने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका सुपरभाइजर रेशम गौतमले जानकारी दिनुभयो । केन्द्रिय विद्युतको पहुँच पुगेसँगै अब स्थानीय श्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज हुने गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिले बताउनु भयो । उहाँले भन्नुभयो यस्ता कार्यमा वडाले आवश्यक सहयोग गर्ने छ । केन्द्रिय विद्युत यहाँका जनतालाई निकै आवश्यक थियो अब भने, उद्योग, व्यवसाय सञ्चालन गर्न यसले सहयोग पुग्ने विश्वास रहेको पत्रकार सुरेश छन्त्यालले बताउनु भयो । केन्द्रिय विद्युतलाई क्रमशः टोल( टोलमा विस्तार सँगै माग अनुरुप व्यवस्थापन गर्दै लैजाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।