फाल्गुन २०
सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् ।
सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भइ बनेका घरटहरा भत्किने भएका हुन् । राजमार्गको दायाँबायाँ २५ मिटरभित्र बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किँदा ४ सय बढी पक्की घर पनि पर्ने छन् ।
पाल्पाको विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो बनाउनुको साटो जनतालाई उठिबास लगाउन थालेको भन्दै स्थानीयले विरोध गरेका छन् । घर भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो बनाउनुपर्नेमा जोड दिएका छन् । पहिले सिद्धबाबा, दोभान क्षेत्रको बाटो निर्माण गर्ने र आवश्यक क्षतिपूर्ति पछि मात्रै बाटो विस्तार गर्नुपर्नेमा स्थानीयको माग छ ।
डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशन गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका भौतिक संरचना तत्काल आफैं हटाउन निर्देशन गरिसकेको छ ।
बुटवलको चिडियाखोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँबायाँ २५ मिटरभित्र पर्ने घरको तथ्यांक संकलन गरी हटाउने घरमा रातो पोतिसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माइकिङ गरिएको डिभिजन प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । ढिलोमा चैतदेखि सडक सीमाभित्रका संरचना हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो ।