२२ फागुन ।
गुल्मीमा उपभोक्ता हित संरक्षण संयन्त्र गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संयन्त्र निर्माण गरिएको हो। संयन्त्रले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानीक अधिकारको संरक्षण गर्दै उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने र उपभोक्ता हित विपरितका गतिविधिको नियमन तथा नियन्त्रण गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन्।
उपभोक्ता हित संरक्षण संयन्त्रले खाद्य लगायत उपभोग्य वस्तु र सेवा अन्तरगत विद्युत, सिँचाइ, खानेपानी, सूचना प्रविधि, टेलिकम, शिक्षा, स्वास्थ्य, यातायात, बैंकिङ र इन्जिनियरिङ्गको कार्यक्षेत्रलाई केन्द्रित गरेर त्यसको सहज आपूर्तिका लागि काम गर्नेछ।
त्यस्तै संयन्त्रले वस्तु तथा सेवाको सहज पहुँच, आपूर्ति, गुणस्तर सम्बन्धमा आएका गुनासाहरुलाई लिई प्रचलित कानून, संघ, प्रदेश तथा स्थानीय तहको अधिकार बमोजिम सम्बन्धीत क्षेत्रबाट सुधार गर्न पहल गर्ने, सिफारिस गर्ने, आवश्यकता अनुसार अनुगमन र कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन्।
त्यस्तै संयन्त्रले उपभोक्ता हित विपरितका कार्यहरुलाई नियन्त्रण गर्न सूसूचित गर्ने, उपभोक्ता हित विपरितका कार्यको गुनासोलाई संयन्त्रको जुनसुकै सदस्यलाई गुनासो राख्ने, सूसुचित गर्ने र उपभोक्ता हित विपरित भैरहेका तथा हुन सक्ने स्थानहरुको पहिचान गरी निरन्तर निगरानी गर्नेछ। उपभोक्ता हित विपरीतका कार्यको गुनासो जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नं.०७९–५२११४१ मा टिपाउन सकिने व्यावस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी तथा उपभोक्ता हित संरक्षण संयन्त्रका संयोजक नारायणप्रसाद भण्डारीले जानकारी दिए।
संयन्त्रका सदस्यहरुले सदस्यहरुलाई प्राप्त वा आफैले देखेको समस्यालाई प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीलाई गराउने र संयन्त्रको बैठक न्यूनतम महिनाको एक पटक बस्ने व्यावस्था मिलाइएको भण्डारीले बताए।
संयन्त्रमा नागरिक समाज, गुल्मी उद्योग बाणिज्य संघ, गुल्मी च्याम्बर अफ कर्मस, उपभोक्ता संरक्षण मञ्च, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधी र सदस्य सचिवको रुपमा जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत रहने व्यावस्था गरिएको छ।