३ चैत, बुटवल ।
बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल बटौली लाई जोड्नेगरि संग्रहालय निर्माण सुरु भएको छ । यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालिन नेपाल–अंग्रेज युद्ध ताकको झल्को दिनेगरि निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो । जितगढी बटौली युद्ध संग्रहालयको बुधबार एक समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्नुभयो । राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताउनुभयो । शिलान्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, कार्यपालिका सदस्यहरु, इन्जिनियर, निर्माण कम्पनी, राजनीतिक दलका नेताहरु, सञ्चारकर्मी र नागरिक अगुवाहरुको सहभागिता थियो ।