सुर्य सुनार
गुल्मी ,चैत १२
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ गुल्मीले क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रम तम्घासमा सम्पन्न गरेको छ । जिल्ला महासंघ ,स्थानीय महासंघका पदाधिकारी सदस्यहरुलाई बुधबार क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रम प्रदान गरिएको हो । गोष्ठिमा सामुदायिक वन उपभोक्ता समितिले जिल्लामा गरिरहेका कामको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि फेकोफनका केन्द्रिय सचिब ठाकुर भण्डारीले वन क्षेत्रमा महासंघको स्थापना भएपछि धेरै काम गरेको दावी गर्नुभयो । सरकारले विभिन्न प्रकारका कडा नियम बनाएको थियो हामीले उक्त नियम सरकारसंग सच्याउन माग गरी सरल र सहज नियम बनाउन सफल भएको बताउनुभयो ।
वन सम्बन्धि कानुन निर्माण गर्दा व्यक्ति भन्दा पनि समुदायलाई राम्रो हुने नियम बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । स्थानीय सरकार संग वन सम्बन्धी काम लिएर जान पनि उहाँले आग्रह गर्नुभएको थियो । जसले गर्दा वनको संरक्षण तथा वातावरणलाई पनि राम्रो प्रभाव पर्ने उहाँको भनाई थियो । उहाँले जिल्लाका सामुदायिक वनका पदाअधिकारीलाई आफ्नो छुटै पहिचान बनाउन आग्रह गर्नुभयो । जिल्लामा समयमै महासंघको सदस्यता लिन, नविकरणको काम लाई सुचारु गर्ने र आफ्ना नियमित बैठक संचालन गर्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि फेकोफन लुम्बिनी प्रदेशका महासचिब राममल्ल ठकुरीले सामुदायिक वनमा काम गर्दा कसरी गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले सामुदायिक वनको महत्व बारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष सामुदायिक वन उपभोक्ता महासंघ गुल्मीका अध्यक्ष विष्णु पौडेलले स्थानीय सरकार संग समन्वय गरेर कस्तो प्रकारको वन संरक्षण सम्बन्धी कार्यक्रम लिने भन्ने विषयमा छलफल गरेर बजेटको माग गर्नुपर्ने बताउनुभयो । राम्रो कार्यक्रम हुदाँ पनि स्थानीय सरकारले ध्यान नदिएमा महासंघको ध्यानआकर्षण हुने उहाले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख तुल्सी कुमारी श्रेष्ठ, जिल्ला समन्वय सदस्य उमा चुदारा, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष हिरा कुवँर, तथा पत्रकारको उपस्थित रहेको थियो ।