जेष्ठ ११
तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा थेग्नै नसक्नेगरी कोरोना परीक्षण निम्ति स्वाब नमूना थुप्रिएको छ।
दैनिक ९४ वटामात्रै नमूना परीक्षण गर्न सकिने क्षमता रहेपनि स्थानीय तहहरूले प्रयोगशालासँग समन्वय नै नगरी स्वाब संकलन गरेकाले समस्या भएको प्रयोगशालाका प्रमुख लक्ष्मण पन्थीले बताए। सबै स्वाब परीक्षण गर्न एक साता समय पनि अपुग हुने उनको भनाई छ।
जिल्लाका स्थानीय तहहरूले स्वाब संकलन गर्दा प्रयोगशालासँग समन्वय नै नगरेकाले यस्तो समस्या आएको पन्थीको दाबी छ।
यस्तै, रिएजेन्ट(केमिकल) समेत अभाव भइरहेकाले जथाभाबी स्वाब नमूना संकलन नगर्न पनि प्रयोगशालाले स्थानीय तहहरूलाई आग्रह गरेको छ।
प्रयोगशालामा थेग्नै नसक्ने गरी स्वाबको नमूना आएकोमा ३५० नमूनाको परीक्षणलाई मात्र पुग्ने रिएजेन्ट केमिकल आफूहरूसँग रहेको पन्थीले बताए।
पहिले स्वास्थ्य सेवा विभागबाट आउने गरेकोमा अहिले रोकिएको र एक हजार ५०० नमूना परीक्षण गर्ने केमिकल गुल्मी अस्पतालले खरिद गरिसकेको उनले बताए।
बजारमा गुणस्तरीय केमिकल पनि पाउन छाडेको पन्थीले दाबी गरे।
यता, गुल्मी अस्पतालका प्रमुख उत्तम पच्याले रिएजेन्ट केमिकल खरिद प्रक्रियामा रहेको बताए।
प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब संकलन हुँदा परीक्षणमा समस्या भएको भन्दै केमिकलको अभाव हुन नदिने गरी अस्पताल लागेको पच्याको दाबी छ।
प्रयोगशाला संचालनका लागी फेरि आर्थिक अभाव हुन थालेको पच्याले बताए।
जिल्लाका स्थानीय तहहरूको आर्थिक सहयोगमा संचालनमा आएको प्रयोगशालामा फेरि आर्थिक अभाव हुन थालेको अस्पतालले जनाएको छ।
जेठ महिनासम्मका लागि मात्रै पुग्ने गरी रकम रहेकाले फेरि आर्थिक अभाव हुन थालेको अस्पतालले जनाएको छ ।