बसन्त श्रेष्ठ छापेली
२६, जेठ २०७८, अर्घाखाँची
अर्घाखाँची आवाशीय भुपू बिद्यार्थी समाज सन्धिखर्कले अर्घाखाँची अस्पतालका लागि स्टाफ नर्स उपलब्ध गराउने भएको छ । कोभिड १९ को विश्वव्यापी महामारीमा उपचार तथा अन्य स्वास्थ्य सेवा प्रदान गर्न दक्ष जनशक्ती उपलब्ध गराउने उद्देश्यले समाज र अस्पताल विकास समितिको बीचमा उक्त सम्झौता भएको हो ।
सम्झौतामा पहिलो एक वर्षका लागि आवश्यक पर्ने नर्सिङ्ग कर्मचारीको तलब अर्घाखाँची आवाशीय भुतपूर्व बिद्यार्थी समाजले ब्योहोर्ने गरी सम्झौता भएको अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो । अस्पताल विकास समितिको तर्फबाट अध्यक्ष भुसाल र भुतपूर्व बिद्यार्थी समाजको तर्फबाट हिरामणी पराजुलीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । आवश्यकता अनुसार अर्को एक वर्षका लागि समेत थप गर्न सकिने सम्झौतामा उल्लेख छ ।
अध्यक्ष भुसालले अस्पताल विकास समितिको पहलमा अस्पतालमा बिभिन्न समयमा स्वास्थ्य क्षेत्रको सुधारका लागि बिभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको भन्दै सहयोग गर्ने सबै पक्ष, क्षेत्र तथा निकायलाई धन्यबाद समेत दिनुभएको छ । कोरोना महामारीको बिचमा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएका भुसालले पदभार ग्रहणमा समेत बिभिन्न स्वास्थ्य सामग्री सहयोग लिएर पुग्नुभएको थियो ।
अर्घाखाँची आवाशीय भुतपूर्व बिद्यार्थी समाजबीच सहमति भएलगत्तै विज्ञापन प्रकाशन भैसकेको समाजका हिरामणी पराजुलीले जानकारी दिनुभयो ।