असार २
नदीमा पानीको बहाव उच्च भएपछि स्याङ्जाको मिर्मीमा रहेको कालीगण्डकी जलविद्युत परियोजनाबाट विद्युत उत्पादन बन्द गरिएको छ । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै लेदोसहितको पानी आउने र त्यसले मेसिनमा असर गर्ने भएकाले मंगलबार बिहान ३ बजेबाट विद्युत उत्पादन बन्द गरिएको कालीगण्डकी ए जलविद्युत परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले बताए ।
“नदीमा पानीको सतह हिजो रातिबाट एक्कासी ३ हजार मिटर प्रतिसेकेण्डभन्दा धेरै छ” उनले भने, “पानीको बहाव उच्च भएसँगै नदीमा लेदोसहितको पानी, काठका मुढाहरु बगाएर ल्याउने गरेकाले हिजो रातिदेखि नै बाँधका तीनवटै ढोका खोलेका छौं ।” नदीमा पानीको बहाब बढी हुँदा बाँधका ढोका बन्द गरी ईन्टेकमा पानी लैजाँदा नदीको सतह माथि आउने र सेतीवेणी बजार डुबानमा पर्ने भएकाले तीनवटै ढोका खोलेर विद्युत उत्पादन बन्द गर्नुपरेको उनले बताए ।
“विगतमा वर्षायामका समयमा ३÷४ घण्टासम्म पानीको बहाव उच्च हुने र क्रमशः घट्ने गथ्र्यो” उनले भने, “तर यसपटक अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढी छ यो अवस्थामा विद्युत उत्पादन गर्न सक्ने अवस्था नै छैन ।” उनका अनुसार वर्षाका कारण कालीगण्डकीमा हाल ३ हजार देखि ३५ सय मिटर क्यू प्रति सेकेण्ड पानीको बहाव रहेकोमा यो घटेर २५ सय क्यू प्रतिसेकेण्डमा झरेपछि उत्पादन गर्न सकिने छ ।