नेपाली कांग्रेसका ४ जनाभन्दा बढी नेताहरु सभापतिका उम्मेदवार

१४ औं महाधिवेशनमा नेपाली कांग्रेसका ४ जनाभन्दा बढी नेताहरु सभापतिका उम्मेदवार ।

सभापतिको उम्मेदवारको रुपमा सबैभन्दा अगाडि सभापति शेरबहादुर देउवा । देउवा यसपटक पनि सभापतिमा आफू दोहोरिन चाहेको सन्देशका साथ आफूनिकट नेताहरुसँग छलफलमा जुटेकेका छन् ।

५ असार अर्थात् हिजो उनले आफ्नो निवासमा केही नेताहरुलाई भेटे । आफूनिकट नेताहरुसँगको छलफलमा उनले स्पष्ट सन्देश दिएका छन्– यसपटक सभापतिको हुने म हो, मलाई सहयोग गर्नुहोस् ।

उनले आफूलाई थप एकपटक सभापतिमा सहयोग गर्न सभापतिमा आफू उठ्ने दाबी गर्दै आएका कांग्रेस नेता विमलेन्द्र निधिलाई पनि अनुरोध गरिसकेका छन् । सभापतिमा आफूले उम्मेदवार दिने दाबी गरिसकेका निधिले यसपटक १३ औं महाधिवेशनमा जस्तै देउवालाई सहयोग गर्नेछन् वा आफैं सभापतिको दौडमा हुनेछन्, त्यो हेर्न नै बाँकी छ । तर, देउवाले चाहिँ निधिले सभापतिमा दाबी गरे पनि आफूलाई पछि नहटाउने निर्णय गरिसकेको उनीनिटक एक नेता बताउँछन् ।

विमलेन्द्र निधिले साथ नदिएको खण्डमा पनि देउवाले यसपटक सभापतिमा जित्नेछन् । ‘एकैपटकमा उहाँको बहुमत नपुग्ला तर दोस्रो र तेस्रो राउण्डमा सभापतिका लागि निर्वाचन भए पनि उहाँले नै जित्ने हो,’ ती नेताले भने ।

कांग्रेस सभापतिका अर्का आकांक्षी रामचन्द्र पौडेल समूहलाई चाहिँ यही कारण आफूहरु सहज अवस्थामा पुगेको पूर्वानुमान भएको छ ।

‘निधिले देउवालाई साथ छोड्दा आफूलाई सहज हुने अनुमान पौडेल समूहले गर्न सक्छ ।

रामचन्द्र पौडेल चाहिँ पछिल्लो समय देउवानिकट केही नेताहरुलाई पनि आफ्नो प्यानलमा ल्याउन कसरत गरिरहेका छन् । त्यस्तै, उनले सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, शशांक कोइराला र कृष्णप्रसाद सिटौला समूहलाई पनि आफूसँग ल्याउन सकिने विश्वास लिएका छन् । सिटौलाले आफूलाई सहयोग गर्दा सिंह र कोइराला आफ्नो पक्षमा आउने उनले अनुमान गरेका छन् । यस्तो भएको खण्डमा पहिलो चरणमा नभए पनि दोस्रो चरणबाट आफू सभापतिमा निर्वाचित हुने सम्भावना प्रवल रहेको पौडेलको विश्वास छ ।

एकातिर देउवा र पौडेल यसपटक सभापतिमा आफूलाई विजयी गराउनेमा निश्चित जस्तै भएका छन् भने कांग्रेसको दोस्रो पुस्ता पनि अब सभापतिमा उम्मेदवारी दिनबाट पछाडि नहट्ने पक्षमा रहेको छ ।

‘कांग्रेसमा पछिल्लो पुस्ताको उदय निकै तीव्र गतिमा भइरहेको छ, अबको पाँच वर्षमा अहिले युवा नेता भनिएका अनुहारहरु नै सभापतिका लागि आकांक्षी हुने अनुमान कांग्रेसमा दोस्रो पुस्तका नेताले गरेका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंह पनि सभापतिमा आफ्नो दाबी ठिक भएको निष्कर्षमा पुगेका छन् ।

यसअघि सिंहले कांग्रेसमा शेखर वा शशांक कोइरालामध्ये एकलाई सहयोग गर्न सक्छन् भन्ने अनुमान गरिएको थियो । तर, पछिल्ला दिनमा सिंह आफूले कांग्रेसको नेतृत्व गर्ने समय आएको भन्दै दैनिक निवासमा छलफलमा जुटिरहेका छन् ।

‘देउवाले पार्टीलाई धेरै डुबाएका छन्, अब यसलाई पुनर्जीवन मैले दिनुपर्छ,’ सिंहले कार्यकर्ता तथा आफूनिकट नेताहरुसँगको भेटघाटमा भन्दै आएका छन् । बाबु गणेशमान सिंहले पनि कोइराला परिवारलाई नेतृत्व छोडेको स्मरण गर्दै सिंहले अब आफूले कांग्रेसका लागि त्यही कुरा दोहोर्याउन नसक्ने बताउँदै आएका छन् ।

त्यसैले अबको कांग्रेस महाधिवेशनमा प्रकाशमान सिंह पनि एक आकांक्षी हुन् ।

भदौमा काठमाडौंमा हुने कांग्रेस महाधिवेशनमा यसपटक कोइराला दाजुभाइ शशांक कोइराला र शेखर कोइराला पनि आकांक्षी रहेका छन् । यी दुवैले अहिलेसम्म आफूहरु दुवै जना कांग्रेसको नेतृत्वका लागि तयार भएको बताएका छन् । ‘अन्तिममा एकले अर्कालाई सहयोग गर्न सक्छन्।

 

You might also like