असार महिना मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि अति महत्वपुर्ण छ । असार महिनाको सामाजिक र आर्थिक मात्र नभई साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । असारे महिनामा जनमानसमा प्रचलित गीत पुस्तौंदेखि असारको सेरोफेरोमा लेखिएका र गाइएका छन् तर यो चलन अहिले निकै कम भई सकेको छ ।
आषाढे पन्ध्र एउटा चाड पनि हो, दहीचिउरा, आँपलगायतका परिकारले आजको दिनलाई अझ विशेष बिशेष महत्वको बनाएको छ । दही अनि चिउरालाई बोता या दुना टपरीमा राखी दहीको तरल पदार्थ टपरीबाट नझरोस् भन्दै सन्तुलन मिलाएर खाएको दहीचिउराले संसार बिर्साउँछ । असार महिनामा रोपाइँ सुरु हुन्छ ।
यसरी छेउकुनाका झार–बुट्यान खुर्किएर र बाँझो खनेर धान रोप्न ठिक्क पारिएका खेतका गराहरू । पर्म लाउने–तिर्ने मेसोमा त्यसदिन हाम्रो घरमा भेला भएका लाठे र रोपाहार । यता, नारिएका दुई/चार हल गोरुका पछि भिडेका जोत्ने लाठेहरूको होर्रा फर्काउँदाको हप्कीदप्की, उता रोप्ने ठाउँ तयार नहुँदै दिनभरलाई पुग्ने बीउ उखेलिसक्ने हतारोमा रहेका ब्याडेहरूको खैलाबैला । खेतालालाई चिया–खाजाको व्यवस्थापनमा भान्साकोठाभित्र चिसा दाउरा झोसिरहेकी आमा, आना हल गोरुपछाडि झुन्डिएको हलोको अनौसँगै त्यसदिनको सारा ब्यवस्थापनमा ब्यस्त बा, को नै फुर्सदमा हुन्थ्यो र । कृषि कर्मका लागि यसमा पनि छुट्टै हली, बाउसे र रोपाहार हुन्थे । लाठेहरूको सिको गरीगरी खेतको अर्कोछेउमा रोपाइँ सुरु हुन्थ्यो । भेल पसेर बौलाएको बाटोअघिको कुलोमा डुबुल्की मार्दाको त्यसदिनको मज्जा अर्कै हुन्थ्यो ।
हाम्रो देश भौगोलिक भूबनोटका कारण अकाशे पानीमा धानको रोपाइँ गर्नुपर्ने हुन्छ । त्यसैगरी धान बालीको क्षेत्रफल तथा उत्पादन स्थितिलाई विश्लेषणात्मक रूपमा हेर्ने हो भने प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान बालीको क्षेत्रफल आर्थिक वर्ष २०७६/७६ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा १ प्रतिशतले बढोत्तरी भई १४ लाख ७३ हजार ४ सय ७० हेक्टर पुग्ने अनुमान गरिएको छ । त्यसैगरी, उत्पादनतर्फ अवलोकन गर्ने हो भने आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा ५५ लाख ५० हजार ८ सय ८० बाट १ दशमलव २८ प्रतिशत अर्थात् ७० हजार ८ सय ३० मेट्रिक टन उत्पादन वृद्धि भई ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । त्यसरी नै धान बालीको उत्पादकत्व अध्यनन गर्ने हो भने गत आर्थिक वर्ष ३ दशमलव ८० प्रतिशत प्रतिहेक्टर मेट्रिक टन थियो भने चालू आर्थिक वर्षमा शून्य दशमलव २८ ले वद्धि भई ३ दशमलव ८२ प्रतिशत प्रतिहेक्टर मेट्रिक टन भएको अनुमान छ । हाम्रो देशमा साधारणतया जुन १० तारिखबाट वर्षा सुरु हुने भनिएको छ । यस वर्ष भने जुन ९ तारिखदेखि नै मनसुन सुरु भएको छ । यसमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । सो समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ ।
सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको ९करिब ३० वर्ष० औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ । मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ । मनसुनी वायु क्रमिक रूपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेको छ । यो वर्ष भारतमा सामान्यभन्दा अघि मनसुन सुरु भएको थियो भने नेपालमा पनि छिटो मनसुन सुरु भएको स्थिति छ । तर, त्यसको ठीक उल्टो केही दिन ढिला गरी मनसुन प्रवेश गरेको छ । मनसुन ढिलो प्रवेश गरी सक्रिय बन्न नसकेको भए पनि वायुमण्डलको वातावरण धेरै राम्रो रहेकाले आगामी दिनमा धेरै वर्षा हुने सम्बन्धित क्षेत्रका मौसमविद्ले बताए । मौसम विद्हरूको भनाइअनुसार यो साल भने जुन ९ देखि मनसुन सुरु भएको सम्बन्धित विज्ञले बताएका छन् । जसले गर्दा यस वर्ष धान समयमा नै रोपाइँ हुनेमा कृषकवर्ग ढुक्क छन् । हाम्रो देश अकासे पानीको भरमा तराई, पहाड र हिमाली भेगमा रोपाइँ हुने हुनाले समयमा वर्षा नभएको खण्डमा रोपाइँ हुन नसक्ने स्थिति हाम्रो देशमा विद्यमान रहेको छ ।
हाम्रो देशमा भने २०६१ साल मंसिर २९ गते को निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि हरेक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको थियो । यसका लागि समय परिस्थिति अर्थात् अवस्था हेरी खँदिलो तथा दरो नारा तय गरिने गरिएको छ । यसलाई निरन्तरता दिँदै यस सालको नारा भने ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुख्य नाराको साथै १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाउने रूपमा रहेको छ । हाम्रो देश कृषि प्रधान हो । यहाँका दुई तिहाइ बढी जनसंख्या कृषि पेसामा आश्रित रहेका छन् । यहाँ कृषकको भनाइ रहेको छ असारे झरीले रोपाइँ राम्रो होस्, त्यो झरीको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस् अनि धानको बीउसँगै एकअर्कासँग माया प्रेम र सद्भावको पनि बिजारोपण गर्न सकौं ।
हिलोसँग खेल्दै, पानीसँग पौंठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेतभित्र छुपुछुपु धान रोप्न छिरेका खेतालाको खाजा पनि खेतमै ल्याइदिइने चलन छ । तराईतिर खेतका मालिक आफैं धान रोपाइँमा खेत आइपुगे भने सबै जना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ । सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौंठेजोरी खेलेर हेरौ, नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट छ ।