दोस्रो खोप लगाउन ढिला भएपनि पहिलो खोपको प्रभावकारितामा फरक नपर्ने
अस्ट्राजेनेका (कोभिशिल्ड) खोपको पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तापछि दोस्रो मात्रा लगाउनुभन्दा ४४ देखि ४५ हप्तापछि दोस्रो मात्रा लगाउँदा चार गुणा बढी प्रतिरोधात्मक क्षमता (एन्टिबडी) सिर्जना हुने अक्सफोर्ड खोप समूहले जनाएको छ।
६५ वर्षमाथिका १४ लाखभन्दा बढी ज्येष्ठ नागरिक १६-१७ हप्तादेखि कोभिशिल्डको दोस्रो मात्रा पर्खेर बसेका छन्। उनीहरूले गत फागुनमा पहिलो मात्रा खोप लगाएका थिए। त्यसपछि कोभिशिल्ड खोपको अभाव भएकाले दोस्रो मात्राको टुंगो हुनसकेको छैन। केही समयअघि सांसद, संसद् सचिवालयका कर्मचारी लगायतले दोस्रो डोज लगाएका थिए।
समयमै दोस्रो मात्रा खोप नलगाउँदा पहिलो खोपको प्रभावकारिता कम हुने वा हराउला भनी धेरैले चिन्ता व्यक्त गरिरहेका छन्। तर, अस्ट्राजेनेका खोपकै निर्माता अक्सफोर्ड भ्याक्सिन ग्रुपले दोस्रो मात्रा पाउन ढिलाइ हुँदा पनि कोरोनाभाइरस प्रतिरोधी प्रणाली खत्तम भइनहाल्ने बताएको छ।