प्रेम सुनार
गुल्मी , असार २८ । गुल्मीका १२ वटा पालिका मध्ये सोमबार जिल्ला मै पहिलो पटक धुर्कोट गाउँपालिका खरको छानामुक्त गाउँपालिका घोषणा गरिएको छ । त्यसो त आज भन्दा ४ बर्ष अघि ठिक आज कै दिन असार २८ गते गुल्मीको धुर्कोट गाउँपालिकाका जनप्रतिनिधीहरुले पदभार ग्रहण गरेको दिनको पहिलो बैठकले देश मै पहिलो पटक खरको छानामुक्त पालिका घोषणा गर्ने निर्णय गरेका थिए । अर्को निर्णय थियो एक घर एक धारा कार्यक्रम । उक्त कार्यक्रम अन्तिम चरणमा पुगेको छ भने
जिम्मेवारी सम्हालेको चार बर्ष पछि ठिक असार २८ गते सोमबार खरको छानामुक्त धुर्कोट गाउँपालिका घोषणा गरिएको हो । ब्यानर पढेर जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले खरको छानामुक्त धुर्कोट गाउँपालिका घोषणा गरेका हुन् ।
घोषणा सभामा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल प्रतिवेदन पेश गर्दै खरको छानामुक्ता पालिका धुर्कोट सम्भवतः देश मै पहिलो हुन सक्ने दावी गरे । हाल सम्म ५ सय ४ वटा खरका छाना विस्थापित गरि जस्ता पाताले गरिव विपन्नहरुको घर छाईएको गाउँपालिका प्रमुख पोखरेलले बताए ।
त्यस्तै नागरिक सुरक्षित अवास कार्यक्रम मार्फत थप १ सय ५७ घरधुरीलाई जस्ता पाता उपलब्ध गराईएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । जनता आबास कार्यक्रम मार्फत विपन्न वर्गका लागि ३७ वटा घर निर्माण गरिएको तथा धुर्कोट गाउँपालिका ७ , वाग्ला ज्यामिरेकोटमा पहिरोका कारण उच्च जोखिममा परेको दलित वस्तीलाई एकिकृत नमुना वस्तीमा सार्नका लागि १८ वटा घर निर्माण गरिएको उनले बताए ।
त्यस्तै धुर्कोट गाउँपालिका भुकुम्प पछि गरिएका पुनर्निर्माण गरिएको ५ सय २९ वटा धर पनि निर्माण गरिएको उनले बताए । उक्त कार्य सम्पन्न गर्न कुल १९ करोड २९ लाख ९४ हजार १९ रुपैयाँ लगानी भएको पालिका प्रमुख पोखरेलले जानकारी दिए । खरका छानामुक्त धुर्कोट गाउँपालिका घोषणा जिल्ला समन्व्य समिति प्रमुख लक्ष्मण पराजुलीले गरेका थिए । ४ सय सिट क्षमताको प्यागोडा शैलीमा नवनिर्मित अत्याधुनिक सभाहलमा पहिलो कार्यक्रमका रुपमा खरको छानामुक्त धुर्कोट गाउँपालिका घोषणा गरिएको हो ।
घोषणा सभामा धुर्कोट गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्री , प्रमुख पशासकिय अधिकृत काँशीराम पन्थी , कार्यपालिका सदस्य कमला घर्ति , नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालय , राष्ट्रिय जनमोर्चा धुर्कोटका अध्यक्ष सुर्य थापा , नेकपा माओवादी केन्द्रका निमबहादुर पाण्डे , नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण घिमिरे , नेपाली कांग्रेसका नेता छन्द पहराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिवबहादुृर खत्रीको स्वागत मन्तब्य र स्वास्थ्य शाखा प्रमुख प्रेम खनालको सञ्चालन रहेको थियो ।