साउन ६ ,पाल्पा ।
पाल्पा रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् ।
यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि त्यसयता यो कार्यालयमा प्रमुखविहीन भएको छ ।
यस कार्यालयमा सेवा प्राप्त गर्न नसकेपछि नागरिकहरु सदरमुकाम तानसेन नै पुग्नुपरेको छ । सडकको समस्याका साथै टाढा भएकाले खर्चिलो हुँदा यहाँका स्थानीयवासीले सास्ती बेहोर्नु परेको रामपुरकी शिवकुमारी वाग्ले बताउछिन्।
गृह मन्त्रालयको २०७७ साल चैत १६ को निर्णयानुसार यस इलाका प्रशासन कार्यालय रामपुरमा प्रमुख तोकिएको भनिए पनि अहिलेसम्म आइपुगेका छैनन् । कार्यालय प्रमुख कहिले आउने भन्ने बारेमा जानकारी केही नभएको कार्यालयका खरिदार आशिष श्रेष्ठ बताउछन् ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले पटकपटक इलाका प्रशासनमा कर्मचारी पठाउन खोजिएको तर सरुवा भएका कर्मचारी जान नमानेपछि समस्या भएको बताउछन् ।
कर्मचारी समस्याका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयमा पनि जानकारी गराइसकिएको पाण्डेयले बताएका छन् ।
आर्थिक वर्षको अन्तिम समयमा गत असार १० गते जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई आर्थिक कारोबार सञ्चालन गर्ने गरी कार्यभार तोेकेर काम गरेको छ ।
पूर्वी पाल्पावासीलाई सहज सेवा उपलब्ध दिने उद्देश्यले स्थापना गरिएको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
यसभन्दा अघि यहाँको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा मङ्गलबार र बुधबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर नागरिकता, द्रुत राहदानी सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणलगायतका सेवा दिने गरिएको थियो । अहिले भने यी सेवासम्बन्धी व्यवस्था नहुँदा सदरमुकाम तानसेन नै जानुपर्ने समस्या हट्न सकेको छैन ।
जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका नागरिकलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले सो कार्यालयको उद्घाटन गरेका थिए ।