नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ ।
अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन् ।कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन् ।प्रदेश १ को अधिवेशन विराटनगरमा, प्रदेश २ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।हिजोसम्ममा कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुनेछ । नेतृत्व चयन भएकामध्ये ३२ जिल्लामा संस्थापन पक्षका सभापति चयन भएका छन् । २७ जिल्लामा संस्थापन इतर समूह र दुई जिल्लामा नेता कृष्णप्रसाद सिटौला पक्षका सभापति चयन भएका छन् । कांग्रेसले पालिका र प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको थियो ।
अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बाँके, कैलाली र अछाम छन् । यी जिल्लाबाट महाधिवेशन प्रतिनिधि भने चयन भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन आउँदो २४ गतेदेखि काठमाण्डौमा हुँदैछ ।