इन्डियन प्रिमियर लिग IPL को मेगा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता भएको छ।
बीसीसीआईका अनुसार याे वर्षको अक्सनका लागि कूल १२ सय १४ खेलाडीको नाम दर्ता भएकोमा १५ जना नेपाली रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आईपीएलको अक्सनमा नाम दर्ता गराएका १५ खेलाडीको नाम सार्वजनिक गरेको छ।
क्यानका अनुसार आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आईपीएलको अक्सनमा नाम दर्ता गराएका हुन्।
अक्सनका लागि खेलाडी दर्ता गर्ने समय जनवरी २० अर्थात बिहीबारसम्म थियो। ८९६ भारतीय र ३१८ जना विदेशी खेलाडी अक्सनका लागि दर्ता भएका छन्। अक्सनका लागि दर्ता हुने विदेशी खेलाडीमा सबैभन्दा धेरै अस्ट्रेलियाका ५९, दक्षिण अफ्रिकाका ४८, श्रीलंकाका ३६, इंग्ल्याण्डका ३० तथा न्यूजिल्याण्डका २९ जना रहेका छन्।
खेलाडीको अक्सन आउँदो फेब्रुअरी १२ र १३ मा बैंग्लुरुमा हुनेछ। त्यसबाट १० टिमले आफ्ना लागि खेलाडी छनोट गर्नेछन्। आईपीएलका हरेक टिमले बढीमा २५ खेलाडी राख्न पाउने व्यवस्था छ।