राधा पोख्रेल/गुल्मी
ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक इन्स्पेक्टर सुरज खत्री रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । यस अघि पनि उनि रुपन्देहि जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका थिए ।

पुष महिनामा सर्वोत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर खत्रीलाई दास्रो पटक पुरस्कृत गरेको हो । खत्रीसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मनोजकुमार केसीले शनिबार नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

गुल्मेली माटोमा जन्मिएका इन्स्पेक्टर खत्रीसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै उनीहरुले फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ ।