‘क्लिनिकल ट्रायल’ नगरी बढी डोजको पारासिटामोल उत्पादन र बिक्रीवितरण हुने भएकाे छ।
सामन्य प्रयाेगमा ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन हुने भएकाे छ ।
औषधिको डोज बढाउँदा सर्वसाधारणको स्वास्थ्यमा असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
सर्वसाधारणले आफ्नै विवेकले किन्न र प्रयोग गर्ने यो औषधिको ‘क्लिनिकल ट्रायल’ बिनै डोज बढाउन लागिएको हो ।
बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको पारासिटामोललाई स्वीकृति दिन औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको थियो ।
डोज बढाइएको सिटामोलले कलेजो र मिर्गौलामा हुन सक्ने असरमा अत्यधिक वृद्धि हुन सक्ने विज्ञहरूको चिन्ता छ । हालसम्म ५०० एमजीभन्दा बढी मात्राको पारासिटामोल उत्पादन गर्न पाइँदैन ।
निकट भविष्यमै औषधि कम्पनीले अनुमति लिएर ६५० एमजीको पारासिटामोल उत्पादन गर्न सक्छन् । विश्वमा भारतबाहेक निकै थोरै देशमा मात्रै ६५० एमजीको पारासिटामोल पाइन्छ ।
हालसम्म वयस्कमा प्रायः ५०० एमजी र बालबालिकामा १२५ एमजीको सिटामोल प्रभावकारी देखिएको छ । सरकारी निर्णयले कलेजो आदि रोगमा वृद्घि हुने प्रचुर सम्भावना छ । गर्भवतीमा ६५० सुरक्षित नहुन सक्छ । ५०० एमजी नै प्रभावकारी देखिएको छ भने मात्रा किन वृद्घि गर्ने भन्ने बिज्ञकाे प्रश्न छ । वर्षौंदेखि आम नेपालीले बिनापुर्जा किन्न पाउने पारासिटामोलको मात्रा बढाएर जनस्वास्थ्यमा खेलबाड गर्न खोजिएको छ ।
५०० एमजीकै पारासिटामोल उपयुक्त भइरहेका बेला डोज बढाउने निर्णय किन गरियो भन्नेमा धेरैले संकाब्यक्त गरेका छन् ।
बढी मात्राको पारासिटामोलले कलेजोमा दीर्घकालीन असर पार्न सक्छ । ‘कलेजोमा सिरोसिस, भाइरल हेपाटाइटिस, हेपाटाइटिस ‘बी’ र ‘सी’, फ्याटिलिभर भएकालाई २४ घण्टामा २ ग्रामभन्दा बढी पारासिटामोल सेवन गर्दा समस्या हुन सक्ने बिज्ञकाे भनाई छ ।
हाल ८० प्रतिशतभन्दा बढी ५०० एमजीकै पारासिटामोल चक्की प्रयाेगमा छ ।
एक अनुमान अनुसार हाल वर्षमा १७ देखि १८ करोड चक्की पारासिटामोल खपत हुन्छ ।
औषधि उत्पादकको स्वार्थमा र व्यापारीको प्रभावमा एमजी बढाउने निर्णय भएको हुनसक्ने बताईएकाे छ ।
अहिले प्रतिट्याब्लेट मूल्य एक रुपैयाँ पर्छ । सिलिङअनुसार एक पत्ताको १० रुपैयाँ पर्छ । त्यसभन्दा बढी मूल्य लिन पाइँदैन । उद्योगीको दबाब र चलखेलमा स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले मूल्य बढाउन खोजेकाे देखिन्छ ।