बसन्त ऋतुको आगमनसँगै वनस्पतिले नयाँ पात फेरेसँगै फूलहरू पनि फक्रिन थालेका हुन्।
तिलोत्तमाका सडक बसन्त ऋतुमा फुलेका फूलको सुन्दरताले ढपक्कै ढाकेको छ।
चैत महिना लागेसँगै अहिले मुख्य डिभाइडरमा लगाएका बेगनबेली फूल फुलेर सडक आकर्षक र मनमोहक बनेको छ।
नगरपालिकाका हाइवे सडक किनार रंगीचंगी फूलहरूले ढकमक्क बनेको छ।
तिलोत्तमा नगरपालिकाले बुटवल बेलहिया ६ लेन सडकखण्डको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा पनि
विभिन्न प्रकारका फूल तथा बिरूवा लगाएको छ।
धेरै हांगाबिंगामा फुल्ने भएकोले बेगनबेली फूललाई फूलप्रेमीहरूले घरको गेट,पर्खाल तथा बारको रूपमा समेत लगाउने गर्छन्।
तिलोत्तमा नगरपालिकाले भने बेगनबेली फूललाई नगरफूल घोषणा गर्दै तिलोत्तमाभित्र बसोबास गर्ने हरेक घर परिवारले
एउटा भए पनि बेगनबेली फूल लगाउन आग्रह गर्दै आएको छ।
बेगनबेलीलाई नगरफूल घोषणा गरिएपछि ६ लेन सडक डिभाइडरमा पनि नगरपालिकाले फूल लगाउन सुरू गरेको हो।
जाली लगाएर घेरिएको डिभाइडर तथा कंक्रिटको रिङमा समेत लगाएका फूलहरू यतिबेला फुलेर रातै पहेंलै भएका छन्।
फराकिलो र चिल्लो सडकलाई रंगीचंगी फूलहरूले झनै सुन्दर बनाएका छन्।
बेगनबेली रातो, गुलाबी, सेतो, पहेंलो कलेजी रंगमा फुल्ने गर्छन्। यो फुल अहिले नगरका घर,बाटो कौसी तथा
फुलबारीहरु समेत मानिसहरु फुलाउन लालायित देखिन्छन। झट्ट हेर्दा राम्रो देखिने यो फुलको सुन्दरताले तिलोत्तमालाई
अझै सुन्दर बनाएको छ।
तिलोत्तमा सिटी