चार प्रकारका सहकारी संस्थाले उद्योग खोल्न पाउने
२ बैशाख, गुल्मी ।
सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ ।
औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आउन सकेको थिएन । सरकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै अब सहकारी संस्थाहरूले पनि उद्योग खोल्ने बाटो खुलेको छ ।
चार प्रकारका सहकारी संस्थाले मात्र उद्योग खोल्न पाउने छन । उत्पादक सहकारी संस्था वा संघ, उपभोक्ता सहकारी संस्था वा संघ, श्रमिक सहकारी संस्था वा संघ र बहुउद्देश्यीय सहकारी संस्था वा संघले मात्र उद्योग खोल्ने सुविधा पाउने छन् ।
यसबाहेक अन्य प्रयोजनका निमित्त दर्ता भएका सहकारीले भने आफ्नो क्षेत्राधिकारभित्र रहेर व्यावसायिक काम गर्नुपर्नेछ । बचत तथा ऋण सहकारी संस्थाले भने उद्योग खोल्न पाउने छैनन् भनेर नियमावलीमै स्पष्टसँग लेखिएकाले उनीहरुले उद्योग दर्ता गर्न पाउने प्रावधान रहँदैन । औद्योगिक व्यवसाय नियमावली २०७८ अनुसार उद्योग दर्ता गर्न चाहने सहकारी संघ वा संस्थाले आवश्यक मापदण्ड पूरा गर्नुपर्ने र निश्चित शर्त पालना गर्नुपर्ने व्यवस्था छ ।
जसमा सहकारी संस्थाको साधारणसभाले उद्योग खोल्ने निर्णय गरेको हुनुपर्ने, उद्योग खोल्ने क्षेत्रको स्थानीय तहले स्वीकृति दिनुपर्ने लगायत रहेका छन् । यस्तै, नियमावली अनुसार सहकारी संस्थाको अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदन, सेयर सदस्यहरूको लगतसहितको विवरण, सहकारी संस्थाको विनियमको प्रतिलिपिलगायतका कागजात अनिवार्य रूपमा उद्योग विभागमा पेस गर्नुपर्नेछ ।
देशमा हाल २९ हजार ८ सय ८६ को संख्यामा सहकारी संस्था रहेका छन् । जसमध्ये संघीय सरकार मातहत १ सय २५ वटा अर्थात् ०.४१ प्रतिशत, प्रदेश सरकार मातहत ६ हजार २ अर्थात् २०.०८ प्रतिशत सहकारी छन् भने स्थानीय तहमा दर्ता भएका सहकारीको संख्या २३ हजार ७ सय ५९ अर्थात् ७९.४९ प्रतिशत रहेको सहकारी विभागको तथ्यांकमा उल्लेख छ ।
ससाना पुँजी परिचालनमा सहकारीको रचनात्मक योगदान रहँदै आए पनि केही बचत तथा ऋण सहकारीको बदमासीले यो क्षेत्र नै बदनाम हुँदै आएको छ ।
सहकारीमार्फत उद्योग सञ्चालनले स्वदेशी पुँजी परिचालन तथा कच्चा पदार्थको उपयोगिता र बजारीकरणको चक्र सहज रूपमा अघि बढ्ने तथा यसबाट ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा सरकारको छ । सरकारले दुई वर्षअघि जारी गरेको औद्योगिक व्यवसाय ऐनले नै सहकारी संस्थालाई उद्योग स्थापनाका निमित्त बाटो खोलेको थियो ।
प्रचलित कानुनबमोजिम दर्ता भएका तोकिएबमोजिमका सहकरी संस्थाले सो संस्थाको स्वामित्व रहने गरी उद्योग दर्ता गर्न चाहेमा यस ऐनबमोजिम उद्योग दर्ता गर्न सक्नेछन् । यसरी ऐन बनेको दुई वर्षपछि जारी भएको नियमावली कार्यान्वयनमा आएसँगै सहकारी संस्थाहरूले अब उद्योग दर्ता गर्न सक्नेछन् ।
देशमा उत्पादनमूलक उद्योगको योगदान कुल गार्हस्थ उत्पादन घट्दै गएका बेला यो व्यवस्थाले केही सहज वातावरण बन्न सक्ने सरोकारवालाको भनाइ छ ।