आज विश्व रेडक्रस दिवस
बैशाख २५
आज मे ८ तारिक अर्थात विश्व रेडक्रस दिवस ।
रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।
विश्व रेडक्रस दिवस संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त गर्यो । तर नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।
रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानिन्छ । रेडक्रसको मुख्यलक्ष्य भनेको मानव उद्धार हो । मानबिय उद्धार भन्नाले मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पुर्याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरि जीवन रक्षा गर्नु भन्ने बुझिन्छ । अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको रेडक्रसमा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयं सेवकका रुपमा कार्यरत छन् ।
रेडक्रसले गर्ने काम अरु कुनै संस्थाले गर्न सक्दैन । विशुद्ध मानबियतालाई आधार मान्दै रेडक्रसले मानव कल्याणको काम गर्दै आएको छ ।
सन् १८६३ देखि क्रियाशील रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति जस्ता परिस्थितिमा प्रभावकारी रुपमा काम गरिरहेको छ । मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकताजस्ता आधारभूत ७ सिद्धान्तमा आधारित विश्वको सबैभन्दा ठूलो मानवीय सेवामा स्वाधीनतापूर्वक समर्पित संस्था हो, रेडक्रस । जाति, धर्म, राजनीति, वर्ग, लिंग, सम्प्रदायजस्ता मानवजातिलाई विभाजन गर्ने तत्वसाग रेडक्रसको कुनै सम्बन्ध र सरोकार हुादैन ।
पूर्वाग्रह, पक्षपात, भेदभाव र विभेदबिना पीडित मानवको सेवा गर्नु अन्तर्राष्ट्रिय रेडक्रसको मूल उद्देश्य हो । मानवीय शक्ति र स्रोतको परिचालन गरी मानवीय पीडालाई कम गर्नु रेडक्रसको कर्म र धर्म दुवै हो । मानवीय सहायता, मानव जीवन एवम् स्वास्थ्यको रक्षा र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा रेडक्रसले संसारभर आशाजनक कामहरु गर्दै आइरहेको छ ।
हेनरी ड्युनाको जन्म सन् १८२८ मे ८ मा स्वीट्जरल्याण्डको जेनेभा सहरमा भएको हो । सन् १८४९ मा बैंकमा काम शुरु गरेका ड्युनाले १८५९ जुन महिनामा व्यापारको सिलसिलामा फ्रान्सका सम्राट् नेपोलियन तृतीयलाई भेट्न जादा बाटोमा फ्रान्स, इटली र अस्ट्रेलियाको बीचमा ठूलो युद्ध भएको थियो । इटलीको सल्फेरिनो भन्ने ठाउमा भएको भीषण युद्धमा १० हजार सेना मरिसकेका थिए भने ४० हजारभन्दा बढी सैनिकहरु घाइते भएका थिए । धेरै घाइतेहरु छटपटीमा परिरहेका थिए । दुःख र करुणामय चित्कारका स्वरहरुले ड्युनालाई मर्माहत बनायो । त्यो अवस्था देखेर हेनरी ड्युनालाई घाइते सिपाहीहरुलाई सेवा गर्ने र प्राथमिक उपचार गर्ने सोच बनाए । त्यस बेला उनले स्थानीय महिला र युवाहरुको सहयोगमा धेरै घाइतेहरुको ज्यान बचाउन उनी सफल पनि भए । आफ्नो व्यावसायिक सोचलाई बिर्सिएर हेनरी ड्युना स्वदेश जेनेभा फर्किए ।
सल्फेरिनोको दुःखद घटनाको यथार्थ वर्णन अर्थात चित्रण गरेर सन् १८६२ मा ‘सल्फेरिनोको स्मृति’ नामक पुस्तक प्रकाशित गरे । पुस्तक प्रकाशन गर्न ड्युनालाई गुस्ताफ मोनियर, जनरल जीएच ड्युफो, डा। लुई अप्पिया र डा। थियोडोर मौनारले विशेष सहयोग गरेका थिए । सन् १८६३ को अक्टोबर २६ देखि ३० सम्म १६ राज्यका ३२ जना प्रतिनिधिको उपस्थितिमा घाइतेहरुको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समिति नामक संस्थाको स्थापना गरे । पछि सन् १८७५ मा यस संस्थालाई रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) नाम राखियो ।
सन् १८६४ मा केही देशका प्रतिनिधिहरु समेतको उपस्थितिमा जेनेभामा सम्मेलन भयो । त्यस बेला युद्धपीडित सम्बन्धी अन्तर्राष्ट्रिय जेनेभा लोकसम्मति समेत तर्जुमा गरियो । त्यसै समयमा स्वीट्जरल्यान्ड देशको राष्ट्रिय झण्डाको विपरीत रंग, अर्थात् सेतो पृष्ठभूमिमा रातो क्रस भएको रेडक्रस चिन्हको प्रारम्भ गरियो । अहिले हेनरी ड्युनाले प्रार्दुभाव गरेको रेडक्रस विश्वमा १९६ बढी राष्ट्रहरुमा सक्रिय रुपमा कार्यरत छ । सुरुमा हेनरी ड्युना रेडक्रसको संस्थापक महासचिव र अध्यक्ष जीएच ड्युफो थिए । संस्था विश्वव्यापी हुदै मानवीय सेवामा जुट्दै थियो, ड्युनालाई भने आर्थिक समस्या पर्न गयो । त्यस पछि उनि चर्चामा आएनन् । सन् १८८७ मा स्वीट्जरल्याण्डको हेडेन भन्ने ठाउँमा वम वर्कर भन्ने पत्रकारले ड्युना वृद्ध अवस्थामा हेडेनको वृद्धाश्रममा जीवित रहेको कुरा अखबारहरुमा प्रकाशित गरे । त्यसपछि धेरै देशले ड्युनालाई मानार्थ अध्यक्ष घोषणा गरे । मानपदवी र विभूषणहरुले सम्मानित गरे । सन् १९०१ मा उनलाई शान्तिका लागि पहिलोपटक नोबेल पुरस्कार प्रदान गरियो । ड्युनाले पुरस्कारको धनराशी वृद्धाश्रमको कोषमा सेवासुविधाका लागि हस्तान्तरण गरे । यसरी मानवीय सेवामा निरन्तर तथा निष्पक्ष रुपमा लागिपर्ने विश्वव्यापी संस्थाका संस्थापक महामानव हेनरी ड्युनाको सन् १९१० अक्टुबर ३० तारिखका दिन जेनेभामा मृत्यु भयो ।
इटालीको सल्फेरिनोमा भएको युद्धले नयाँ विचारको उजागर गर्दै विश्वमा नै परिवर्तन ल्याएको छ । सन् १८५९ जुन २४ मा भएको सल्फेरिनोको युद्धमा युवा व्यापारी हेनरी ड्युनाले युद्धको परिणामबाट प्रभावित घाइतेहरुको भयानक दर्दनाक दृश्य देखेर उनी निकै मर्माहत र प्रभावित भएका थिए । सन् १८६३ मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर घाइतेहरुको सहयोगको निम्ती अन्तर्राष्ट्रिय समिति नामक संस्था स्थापना गरेर यो नै हालको रेडक्रसको अन्तर्राष्ट्रिय समिति हो र सोही सम्मेलनबाट रेडक्रस चिन्ह प्रतिपादन भयो । सन् १८६४ मा जेनेभामा भएको पहिलो कुटनीतिक सम्मेलनबाट पहिलो जेनेभा महासन्धि पारित गरियो भने सन् १९१९ मा ‘लीग अफ रेडक्रस सोसाइटीज’ कोे गठन भयो । सन् १९८३ देखि लीग अफ रेडक्रस एण्ड रेडक्रिसेन्ट सोसाइटीज भन्न थालिएकोमा सन् १९९१ मा हालको प्रचलित नाम “इन्टरनेशनल फेडेरेशन अफ रेडक्रस एण्ड रेडक्रिसेण्ट सोसाइटीज” नामकरण गरिएको थियो । रेडक्रस अभियानका ३ वटा मुख्य अंगहरु मध्ये रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइ.सी.आर।सी.) रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीजहरु ९राष्ट्रिय सोसाइटीहरु० रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (फेडेरेसन ) ।
आई.सी.आर.सी.ले सशस्त्र द्वन्द्व पीडितहरुका लागि संरक्षण र सहयोग, अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षण र प्रवद्र्धन, राष्ट्रिय सोसाइटीहरुलाई मान्यता प्रदान र सहयोग, राष्ट्रिय सोसाइटीहरुको क्षमता अभिवृद्धिमा सहकार्य र सहयोग गर्ने कार्य गर्दछ भने, राष्ट्रिय सोसाइटीहरुले सशस्त्र द्वन्द्व र प्रकोप पीडितहरुलाई सहयोग, अति संकटाभिमुख समुदायको लागि स्वास्थ्य तथा मानवीय सेवाका कार्यहरु, रेडक्रसका आधारभूत सिद्धान्तको प्रचार प्रसार, अन्तर्राष्ट्रिय मानवीय कानुनको प्रचार प्रसार र मानवीय मूल्यको प्रवद्र्धन, संगठन विस्तार र विकास जस्ता कार्यहरु गर्दछ ।
त्यसैगरी महासंघले राष्ट्रिय सोसाइटीहरुको क्षमता अभिवृद्धि र विकासमा सहयोग, प्राकृतिक प्रकोप पीडितका लागि अभियानको अन्तर्राष्ट्रिय सहयोगको समन्वय, प्राकृतिक प्रकोप पीडितलाई सहयोग र राष्ट्रिय सोसाइटीका मानवीय कार्यमा सहयोग र सहकार्य गर्ने गरेको छ ।
नेपालमा २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजारभन्दा बढी उपशाखाहरु छन् । नेपालमा रेडक्रममा ११ लाखभन्दा बढी स्वयंसेवक आवद्ध छन् । दिवसका अवसरमा जिल्ला शाखा तथा उपशाखाले देशैभरी र्याली, रक्तदान, विपद् व्यपस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरु आयोजना गर्दैछन् । रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ । केही वर्ष अगाडिदेखि नेपाल रेडक्रसले सेवा र विकासमूलक गरी दुवै प्रकारका सेवाहरू गर्दै आइरहेको छ । एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, मोतियाबिन्दुको अप्रेशन लगायतका आकस्मिक सेवाहरु प्रदान गरेको छ भने समुदायमा आधारित आँखा अस्पताल, खानेपानी, आधारभूत स्वास्थ्य हेरचाहा, शरणार्थी व्यवस्थापन, महिला सशक्तीकरण, समुदायको क्षमता अभिवृद्धि, एचआइभी र एड्स रोकथाम, मानवीय मूल्यको प्रदर्शन, सरसफाइ, दुव्र्यसन लगायत विभिन्न गतिविधिहरु मार्फत् सरकारको विकास निर्माणमा सामुदायिक विकास कार्यक्रम सुरु गरेको छ ।
पहिलो र दोश्रो विश्वयूद्धताका रेडक्रसले पुर्याएको योगदान बयान गरि साध्य छैन । विश्वको मानवसेवा इतिहासमा रेडक्रसले पुर्याएको योगदान स्वर्ण अक्षरले इतिहासका पानामा कुदिएको छ । यसरी हेनरी ड्यूनान्टले १८ औँ शताब्दीमा देखेका सपना अनि त्यसका खाकाहरु आज संसारभरि मानव सेवाकालागी कहलिएको छ । आफन्त विरामी परेर रगतको अभावमा रगत लिन लाईनमा बस्दा रेडक्रसप्रति नतमस्तक भईन्छ । एम्बुलेन्सले जीवन बचाउँदा रेडक्रसका एम्बुलेन्सलाई प्राणरक्षक मानिन्छ अनि अन्य थुप्रै कुराहरु छन् रेडक्रसका सेवाका आयामहरुका रुपमा । विश्वयुद्ध ताका बमवर्षक विमानहरु, यूद्धपोतहरु अनि सैन्यदस्ताहरु एकअर्काको रगतको प्यासी भएर यूद्धरत हुँदा रेडक्रस को चिह्न उल्लेखित छाना, घर र अस्पतालहरुमात्र यस्ता ठाँउ थिए जहाँ दुबैपक्षका सिपाहीहरुले निष्पक्ष उपचार पाँउथे । आज पनि यूद्धका समयमा संसारभरि रेडक्रस को उपस्थितीलाई अपरिहार्य र विना संकोच यूद्धका पक्षहरुले लिन्छन् ।
हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थूप्रै नामहरुका अतुलनीय योगदानहरु पनि आउँदछन । मानव सेवाकालागि जीवन सर्मपण गर्ने रेडक्रसका संसारभरका स्वयमसेवक अनि नेतृत्वलाई नमन छ । बिश्व रेडक्रस दिवसको अवसरमा मानवीय पीडा कम गर्ने अभियानमा सरिक सम्पूर्ण रेडक्रसकर्मी लगायत सवै मानवहरुमा हार्दिक शुभकामना ।