मुर्रा जातको भैँसी सम्बन्धी जानकारी
नेपालमा मुर्रा जातको भैँसी कहिलेदेखि भित्रियो भन्ने आधिकारिक अभिलेख छैन।
तर भारतबाट आउने मुर्राहरू नेपालमा रहेको भन्दा उत्कृष्ट खालका छन्। नेपालमा पहिलादेखि नै स्थानीय जातका मुर्राबाट छनौट गरेर उच्च क्षमताका माउबाट जन्मेका बच्चाहरूलाई राखिदै आएको थियो। स्वास्थ्य र प्रजनन क्षमता हेरेर तिनीहरूबाट वीर्य संकलन गरिन्छ।
पशु सेवा विभागले तीनवटा निकायमार्फत् वार्षिक आठ लाख कृतिम गर्भाधारण गर्दैआएको छ। अहिले पनि सवा दुई लाख वीर्य उत्पादन गरेर उपलब्ध गराइरहेको बताईन्छ ।
सार्वजनिक खरिद ऐनअनुसार टेन्डर गर्नुपर्ने, जेनेटिक बीउहरूको सजह ल्याउन तथा किन्न नपाइने, मूल्य तोकिएको नहुने, प्लेन चार्टर गर्नुपर्ने, क्वारेन्टाइन प्रक्रिया पूरा गर्नुपर्ने, पटक पटक जाँच गर्नुपर्नेलगायतका अनेकौं असहजता हुने गरेको सरोकारवालाको भनाई छ। मुर्राको मूल्य उसको उत्पादनका आधारमा हुन्छ।
भारत र पाकिस्तान मुर्रा पाइने प्रमुख क्षेत्र हुन्। गुजरात, हरियाणा तिर शुद्ध जातका मुर्रा भैँसी पाइने बताईन्छ।
उन्नत नश्ल, उच्च प्रजनन क्षमताका, उत्कृष्ट राँगाहरू राष्ट्रिय पशु प्रजनन कार्यालयमा व्यवस्थापन हुन्छन्। विशेष व्यवस्थापनमा पालनपोषण गरिन्छ। यिनीहरूबाट वीर्य संकलन गरेर कृतिम गर्भाधारणका लागि किसान किसानलाई पठाईन्छ ।
करिब दश वर्षपछि यिनीहरूलाई प्रतिस्थापन गरिन्छ। भएकालाई हटाएर उन्नत जातको ल्याईन्छ। निश्चित समयपछि तिनीहरूबाट पनि उन्नत जात ननिस्कन सक्छन्। त्यसको निरन्तर अनुगमन गरिन्छ। नश्ल सुधार र विकास प्रयोजनका लागि प्रजननका आधारमा वीर्य संकलन गरिन्छ।
उत्कृष्ट जात छान्नका लागि राँगाबाट जन्मिएका पाडीले प्रतिवेतमा कति उत्पादन दिएका छन्। त्यो हेरिन्छ। प्रतिवेतमा चार हजार लिटरभन्दा बढी दुध दिने पाडीको बाउलाई मात्र वीर्य संकलनको लागि छानिन्छ।
नेपालमा पाइने मुर्राको प्रतिवेतमा १५ सय लिटर उत्पादन छ। सरकारी फार्ममा उत्पादन गरिएको मुर्राको २२/२३ सयको हाराहारीमा उत्पादन छ। भारतबाट आउने मुर्राजातको भैँसीको प्रतिवेतमा चार हजारभन्दा बढी दुध उत्पादन हुन्छ।
नार्कका वैज्ञानिकका अनुसार , ‘जीन पत्ता लगाउन जिन्दगी बित्छ’ पसु बिज्ञका अनुसार नेपालमा पहिलादेखि नै मुर्रा भैँसी पाइन्थे। तर नेपालमा पाइने मुर्राहरू वैध तबरबाट आएका होइनन्। ठेकेदारहरूले बोर्डरबाट अवैधानिक तरिकाले भित्र्याएको हुन्थे। त्यस्ता भैँसी कुन बाउबाट जन्मए र तिनीहरूका आमा कुन हुन् भन्ने विषयमा तथ्यांक थिएन। त्यसैले उच्च प्रजनन र नश्लका हुन या हैनन् भन्ने निश्चित थिएन। ती मुर्राबाट क्रसबीड भएका जातहरू छन।
एउटा जीन पत्ता लगाउन पचास, साठी वर्ष पनि लाग्छ। कसैको जिन्दगी नै जान्छ। एकपटक ब्याएपछि अर्को पटक ब्याउने अवधि भैँसीमा लामो हुन्छ। धेरै वटा पुस्ता हेर्नुपर्ने हुन्छ। आमाबाउभन्दा फरक देखिएकालाई हटाउँदै, राम्रोलाई मात्र छनौट गर्नुपर्छ। पुस्तौं पुस्ताको अनुसन्धानपछि मात्रै उच्च नश्ल र प्रजनन क्षमताका जात पत्ता लगाउन सकिन्छ। सरकारको सहयोग बिना यो काम गर्न सकिन्न।
मुर्राभित्र सामान्य प्रजातिका २,४ लिटरमात्रै दुध दिने खालका पनि हुन्छन्। त्यसैले कुन जीन पत्ता लगाउनु महत्वपूर्ण हुन्छ। मुर्रा अलि ठूलो आकार, कालो रंग र सिंग एकदमै घुम्रिएको हुन्छ।
मुर्रा भैँसीबाट पाइने दुधको विषयमा भारतमा अध्ययन गरिएको छ। तर नेपालमा भने अनुसन्धान भएको छैन। भारतमा भएका अध्ययनहरुले मुर्रा जातका भैँसीबाट आमाको जस्तै पोषिलो दुध (ए २ प्रोटिन) भएको पाइन्छ। (ए २) दुध मानव स्वास्थ्यका लागि लाभदायी मानिन्छ। बच्चाका वृद्धिविकासमा थप सहयोग पुर्याउँछ।
नेपालमा पनि २६ प्रजातिका रैथाने ब्रीड छन्। गाईमा सात वटा, भैँसीमा चार वटा, भेडा चार, बाख्रामा चार, बंगुरमा तीन, कुखुरामा तीन र घोडामा एक वटा गरेर विभिन्न जातका छन्।
सबैमा आफ्नो विषेश गुणहरू छन्। हरेक देशको रैथाने चीजलाई संरक्षण गरेर प्रवर्द्धन गर्ने र प्रयोगमा ल्याउने गर्छन्। त्यसको महत्व एकदमै मूल्यवान मानिन्छ।
पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा, भैँसी छन्। तर कानुनी तरिकाले नभई अन्य कुनै तरिकाले आएका। तीमध्येका उच्च प्रजनन क्षमता भएकाबाट वीर्य छनौट गरिँदै आएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले सन् २०१७ मा प्रकाशन गरेको अध्ययनमा नेपालमा एकदमै महत्वपूर्ण पशुधनका रूपमा भैँसीलाई मानिन्छ। नेपालमा झन्डै ५० लाख भैँसी रहेको र त्यसले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याएको उल्लेख छ। भैँसीबाट मात्रै करिब ६७.७ प्रतिशत दुध र ५७.४ प्रतिशत मासु उपलब्ध हुँदै आएको छ।
जथाभाबी भैँसी काट्ने गर्दा रैथाने प्रजाति पनि जोखिममा परेको जनाइएको छ। लिमे, पार्कोटे र गड्डी जातको भैँसीमा रोग प्रतिरोधातमक क्षमता धेरै भएको, पोषणयुक्त मासु तथा दुध उपलब्ध गराउँदै आएको उल्लेख छ।