लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेन,तीन मन्त्रालय अझै खाली ।
साउन ७
लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। सरकार गठन भएको तीन महिना पुग्दा पनि सरकारले पूर्णता पाउन नसकेको हो।
सत्तारुढ दलभित्र सहमती नजुट्दा सरकार विस्तार हुन नसकेको बताईएको छ।
गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी सरकारलाई पूर्णता दिने गरी गृहकार्य जुटेको उनको सचिवालयले जनाएको छ।
यस्तै, प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मुख्यमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन गृहकार्य गरिरहेको बताए।
लुम्बिनी प्रदेशमा हाल तीन वटा मन्त्रालय खाली छन्। खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ। यी मन्त्रालय हाल मुख्यमन्त्री चौधरीले सम्हाल्दै आएका छन्।
संसदबाट बजेट पास भएलगत्तै मुख्यमन्त्रीले प्रमुख सत्ता साझेदार दल नेकपा माओवादीलगायतसँग छलफललाई तीव्रता दिएका हुन्। तर, छलफलले अझै सार्थकता पाएको छैन। मन्त्री बन्ने आकांक्षी धेरै हुँदा पनि मुख्यमन्त्रीलाई कसलाई मन्त्री बनाउने भन्ने सकस भएको हो।
साना दलको भागबण्डा अनुसार प्रतिनिधित्व भइसकेका कारण अब कांग्रेस र माओवादी केन्द्रबाट बाँकी रहेका मन्त्रालयमा मन्त्री नियुक्त हुने बताइएको छ।
वैशाखमा सरकार गठन गर्दा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ४ र माओवादीले अर्थमन्त्रीसहित ३ मन्त्री पाउने सहमति भएको थियो।
लुम्बिनी प्रदेशमा अहिले नेपाली कांग्रेसले मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालय, माओवादीले अर्थ मन्त्रालय, लोसपाले आन्तरिक मामिला मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार मन्त्रालय, जसपाले कृषि तथा भूमि सुधार मन्त्रालय र जनमत पार्टीले सामाजिक विकास मन्त्रालय पाएका छन्।