इजरायल र हमासबीच चार दिनको लागि युद्धविराम,बन्धक फर्काउने तयारी ।
मंसिर ८
इजरायल र हमासबीच भएको सम्झौतापछि आज शुक्रबारदेखि बन्धकहरुको रिहाई सुरु हुने भएको छ।
इजरायलले बन्धकहरूको पहिलो सूची प्राप्त गरेको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले पनि अपहरण गरिएका व्यक्तिहरूको नामको पहिलो सूची प्राप्त गरेको जनाएको छ।
शुक्रबार बिहान ७ बजेदेखि दुवै पक्षले लडाइ बन्द गर्ने बताइएको छ। यसपछि अपराह्न ४ बजे बन्धकहरुलाई इजरायलको जिम्मा लगाइनेछ। गाजामा इन्धन र मानवीय आपूर्ति पनि शुक्रबार तीव्र हुनेछ।
इजरायली प्रधानमन्त्री कार्यालयका बन्धक र बेपत्ता व्यक्तिहरूको संयोजक गल हिर्सले भने,‘सरकारले पहिलो सूचीमा समावेश गरिएका बन्धकहरूको परिवारलाई सूचित गरेको छ। जो शुक्रबार फर्कने अपेक्षा गरिएको छ। सूचीमा परेका व्यक्तिका आफन्तको नाम पनि अद्यावधिक गरिएको छ।’
हमास र इजरायलबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको कतारले बिहीबार गाजामा युद्धविराम गर्न दुवै पक्ष सहमत भएको र शुक्रबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि औपचारिक रूपमा लागू हुने जानकारी दिएको थियो।
गत साता कतार र अमेरिकासँग मिलेर इजरायल(हमास युद्धविराममा मध्यस्थता गर्ने इजिप्टले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको थियो। इजिप्टको राज्य सूचना सेवाका प्रमुख दिया रश्वानले आफ्नो देशले गाजामा बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूको दुई सम्बन्धित सूची प्राप्त गरेको बताइन् जुन शुक्रबार रिहा हुनेछन्।
हमासले पनि युद्धविराम शुक्रबार बिहानदेखि लागू हुने र चार दिनसम्म रहने जनाएको छ। चार दिनमा हमासले ५० जना बन्धकहरूलाई रिहा गर्नेछ। आदानप्रदान सम्झौता अन्तर्गत, इजरायलले बन्धकको सट्टामा आफ्नो जेलमा रहेका तीन प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।
यस्तो अवस्थामा ५० जना इजरायली बन्धकको बदलामा जम्मा १५० प्यालेस्टिनीलाई रिहा गरिने छ। लडाइँ रोक्न र बन्धकहरूलाई रिहा गर्नुबाहेक, यो सम्झौतामा मानवीय सहायताको पनि उल्लेख छ।
युद्धविरामको क्रममा गाजामा मानवीय सहायता पुर्याउने स्वतन्त्रता पनि हुनेछ। विशेष गरी आधारभूत आवश्यकता र इन्धन गाजामा पठाउन सकिन्छ। डेढ महिनादेखि जारी युद्धका कारण गाजामा आधारभूत सामानको चरम अभाव भएको छ।