नेपालीलाई रुस पठाउने १२ जना पक्राउ।
मंसिर २०
नेपाली नागरिकलाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ नेपाली नागरिक मारिएको पुष्टि गर्दै विवरण सार्वजनिक गरेपछि प्रहरी रुस पठाउने गिरोहमाथिको छानबिनमा लागेको हो । उनीहरु सबैलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। यो गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ। तर अहिलेसम्म पक्राउ परेका १२ जनाविरुद्ध कोही कसैले पनि उजुरी नदिएको प्रहरी स्रोतले जानकारी दियो।
‘हामीले पीडितहरुलाई सम्पर्कमा आउन र उजुरी दिन आग्रह गरेका छौं। तर अहिलेसम्म कोही पनि उजुरी दिन आउनु भएको छैन,’ एक प्रहरी अधिकारीले भने।
सो क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ।