गुल्मीमा पहुँचको आडमा अनुदान ल्याएर लथालिङ्ग,४८ करोड १५ लाखभन्दा बढी अनुदान वितरण ।
मंसिर २८
गुल्मीमा पहुँचको भरमा अनुदान ल्याएर कृषि फर्म नै लथालिङ्ग पार्ने प्रवृत्ति बढेको छ । आफ्नो पार्टीको सरकार बनेको समयमा धेरै नेता तथा कार्यक्रताले अनुदानकै लागि मात्रै काम गरेका छन् भने कतिपय गर्दागर्दै असफल भएका छन् ।
कतिपयले अनुदानकै लागि पालिकामा कृषि र पशु फर्म दर्ता गर्ने र अनुदानपछि फर्म नविकरण नगर्ने समेत गरेका छन् । जिल्लाका विभिन्न कार्यक्रमहरुमा सरकारी अनुदान ठुलाबडा नेता, उच्च पदस्थ कर्मचारी र जनप्रतिनिधि एवं कर्मचारीका आफन्तहरुलाई मात्र दिने गरेको गुनासो समेत उठ्ने गर्दछ । परिणममा पनि त्यस्तै भएको छ ।
यसभन्दा अगाडी लुम्बिनी प्रदेश सरकारले दिएको २० हजार कृषि तथा पशु कोभिड अनुदान त रेसुङ्गा नगरपालिकाका तत्कालिन पशु शाखा प्रमुख, नेकपा र काँग्रेस नेताहरुले हात पारेका थिए । रेसुङ्गा नगरपालिकाले आ.व. २०७७/७८ को कार्यक्रअन्तरगत संघीय बजेटबाट दुई कृषकलाई २५/२५ वटाका दरले ५० वटा पाडा अनुदानमा दियो । तर केही महिनामै सबै पाडाहरु मरेर सकिए । इस्माको कोदो प्रवद्र्धन अभियान पनि अलपत्र परेको छ । यसरी जिल्लाका विभिन्न ठाउँमा सरकारी अनुदानको चरम दुरुपयोग भइरहेको छ ।
गुल्मीका १२ पालिकाले विगत तीन बर्षमा कृषि र पशुको क्षेत्रमा ३१ करोड ४५ लाख पाँच हजार ६१८ अनुदान रकम वितरण गरेका छन् । जसमा कृषितर्फ १७ करोड ६२ लाख ९८ हजार ४९९ र पशुतर्फ १३ करोड ८२ लाख सात हजार ११९ अनुदान मात्रै वितरण गरेका छन् ।
यसका साथै कृषि ज्ञान केन्द्रले तीन बर्षमा २९ करोड ५८ लाख ७० हजार रकम र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुई बर्षमा चार करोड ७४ लाख ३४ हजार ३०८ रुपैँया १३ पैसा रकम अनुदान वितरण गरेको छ । यसरी १२ पालिका एवं कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत तीन बर्षमा ४८ करोड १५ लाख ११ हजार ४२७ अनुदान मात्रै वितरण गरेका छन् ।