वनभोजको (पिक्निक) परमपरा ।
पुस २२
गाउँघरमा हिउँद महिनामा गाउँघर टोलका सबै सदस्य मिलेर वनभोज जाने प्रचलन हुन्छ । वर्षभरि बोलचाल नभएका वा कुनै सहकार्य र सहयोग आदानप्रदान नभएका कतिपय घरपरिवार पनि यस्तो भोजमा सहभागी हुन्छन् । बाँकी छिमेकीसँग राम्रो देखिनको लागि त्यस्ता घरपरिवारले आपसी वैमनस्यतालाई वनभोजमा सकेसम्म लुकाउँछन् ।




औपचारिक भेटघाट समेत गर्दछन् । कहिलेकाही त्यस्तो भेटबाट नयाँ सम्बन्ध बन्न सक्छ र नबन्न पनि सक्छ । बनभोज घरबाट बाहिर खुला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणीय स्थानहरूमा गएर खानेकुरा खाँदै गरिने मनोरञ्जनात्मक कार्यक्रम हो ।
वनभोजमा मानिसहरू भेला भएर मीठामीठा परिकार पकाएर खाने र नाचगान गर्ने गर्छन् ।
वनभोजमा, नयाँ धान कुटेर बनाइएको चामलको भात, मासको दाल, साग तथा तरुलको तरकारी, गुलियो सेलरोटी केराउ र आलु साँधेको अचार खसीको झोलिलो मासु , आन्द्रा र भुँडीको भुटुवा, भात, चाम्रे वा पुलाउ, अमिलो चुकौनी, मारुनी सालैजो नाँच मादलको तालमा दोहोरीको सवाल जवाफ यस क्षेत्रको पुरानो मौलिक परमपरा हो । समय संगै केही बदलिएको छ ।
वनभोजको परमपरा किसान र प्रकृतीसंग जोडिएको संस्कृतिका जानकारहरु बताउछन । समाजका अग्रजहरुको भनाई र अनुभबमा, दसैँ र तिहारजस्ता ठूला चाड सकिएपछि किसान बाली भित्र्याउन व्यस्त हुन्छन ।
खेतबारीको अन्न बाली भित्राए पछि किसानले भूमे र खलो पूजा गर्छन । त्यस पछि वनभात (वनभोज) खाएर रमाइलो गर्ने चलन थियो । तर, पछिल्लो समय यस्तो चलन लोप भइसकेको छ ।
मङ्सिरमा अमलाको रुखमुनि पकाइएको नयाँ अन्नको परिकार दाल, तरुल, पिँडालु, साग खाने परम्परा थियो । मूलतः कृषि प्रधान समाजको अभिन्न अङ्गका रुपमा यो विकास भएको देखिन्छ । फिरन्ते युगमा खुला ठाउँमा खाना खाने बाध्यतालाई पछिको स्थिर बसोबासमा पनि निरन्तरता दिएर अनुकूल मौसमलाई उपयोग गरेको बताईन्छ ।
अमलाको र वनभातको सन्दर्भलाई हेर्दा खाएको भोजनलाई पेटबाट (न अमला) नमला मल नराख्ने वनस्पतिलाई साक्षी राखी वनभात खाने चलन सांस्कृतिक त हुँदै हो अझ यसको सम्बन्ध आयुर्वेदिक तथा जीवनशैलीसँग पनि गाँसिएको जनश्रुती छ ।
मङ्सिरको चिसोमा अमला टोक्दै गर्दा पानी पिउने उत्प्रेरणा दिने सामाजिकीकरणमा ज्येष्ठ नागरिकले अनुज सदस्यलाई ज्ञान हस्तान्तरण गर्ने परम्परा पनि हो । त्यसैले वनभोज खुसियाली, स्वतन्त्रता, स्वच्छन्दता, प्राकृतिक, आयुर्वेदिक र सामाजिक पक्षसँग सम्बन्धित छ ।
जानकारहरुका अनुसार नेपाली संस्कृतिको इतिहासमा वनभातलाई किसानको पर्वका रुपमा लिइन्थ्यो । समयसँगै वनभातको परिभाषा पनि परिवर्तन हुँदै गएको पाइन्छ । वर्तमान समयमा मानिसले यसलाई वनभोज तथा घर बाहिरको मनोरञ्जनका रुपमा मनाउन थालेका छन् ।
खलो पूजा गरेर असारमा सँगै अर्मपर्म गरेर रोपाइँ गरेका किसान सगोलमा वनभोज जाने गर्दथे । नयाँ धान कुटेर बनाइएको चामलको भात, मासको दाल साग र तरुलको तरकारीसँग वनभोज खाएर रमाइलो गर्दथे, वर्षभरिको दुःख बिर्साउने माध्यम बन्दथ्यो वनभोज ।
नयाँ धान माड्ने, दाँइ हाल्दा खलो पुज्ने, भुमे पुज्ने परम्परा हो । खिर, रोटीलगायत चढाएर बलि दिइ वनभोज जाने चलन हो ।
भूमे पुज्ने, सिमसार क्षेत्र कायम रहोस, चिस्यान नहटोस्, खेतीबाली सप्रियोस् भनेर प्रकृतिको पूजा गर्ने चलन हो, पशुगोठ, गोरस (दूध, दही, मही, घिउ) आदिको कमी नहोस् भनेर दिवाली गर्ने चलन थियो ।
कृषि र प्रकृति पूजालाई अन्धविश्वास होइन, सबैको हितका लागि कामना गरेर सहकाल र खुसियालीका लागि प्रकृतिसँग गरिएको अनुरोध हो । प्रकृतिमा आश्रित हामी मान्छेले प्रकृतिको पनि सम्मान गर्नुपर्छ ।
वनभोज कार्यक्रम अहिलेको व्यस्त समाजको पुनर्ताजकीय तथा मेलमिलाप र आत्मीयता साटासाट पाटो पनि हो । विभिन्न परिवारमा आर्थिक तथा अन्य विविध कारणले गर्दा बिग्रिएको पारिवारिक सम्बन्धलाई सकारात्मक गाँठो कस्ने आधारका रुपमा पनि विकास भएको पाइन्छ ।