माघ ५
गुल्मी
गुल्मी जिल्लाको रेसुङ्गासँगै पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर १३ स्थित उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ ।
पछिल्लो समय गुल्मी घुम्न आउने पर्यटकहरुलाई स्थानीय परिकारका खानासँगै स्थानीय कला सँस्कृति देखाउने उदेश्यले होम स्टे सञ्चालनमा ल्याइएको हो । होम स्टेमा बस्न जानेहरुले एक दिन अगाडी नै बुकिङ गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यहाँ स्थानीय उत्पादीत, कोदाको ढिडो, रोटी, मकैको आटो, फापरको रोटी, सिस्नु, लोकल कुखुरा लगायत पाहुनाको रोजाइ अनुसारको खाना पाइने व्यवस्था रहेको होम स्टेक सञ्चालन समितिका संयोजक यज्ञमूर्ति श्रीसले बताउनुभयो । ‘रेसुङ्गा होम स्टे’मा हाललाई १५ जनासम्म बास बस्न पाइने व्यवस्था रहेको छ ।
होम स्टेमा पुगेपछि स्थानीय उत्पादनको खानासँगै स्थानीय कला सँस्कृतिको नृत्य पनि हेर्ने व्यवस्था गरिदै आएको उहाँले बताउनुभयो । होम स्टेमा पुग्ने पाहुनालाई विद्यालयको समय मिलाएर आफनो कलासंस्कृति सहितको नृत्य देखाउने गरेको स्थानीय प्रतिक्षा पुनले बताउनुभयो । उहाँ स्थानीय विद्यालयमा कक्ष १२ मा अध्ययन गर्दै आउनु भएकोछ । होम स्टेमा पुगेका पाहुनालाई उहाँ आफनै संस्कृतिको पहिरनमा नृत्य देखाउने गर्नुहुन्छ ।
‘रेसुङ्गा होम स्टे’ सञ्चालन गर्न रेसुङ्गा नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । त्यस क्षेत्रमा अहिले होस स्टेका लागि भवन समेत तयार गरिएको छ । जनजाती समुदायक करिब १ सय घर बस्ती रहेको भंगारीमा स्थानीयले सोरठी, घाटु, सालैजो जस्ता संस्कृतिको संरक्षण पनि गर्दै आएका छन् ।