प्रकृतिको उपहार बाबरी फूल
माघ ६
जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटी वनस्पति समग्र जीवजन्तु, मानवजातिलाई प्रकृतिको उपहार मान्न सकिन्छ ।
यार्सागुम्बालगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्री वितरणबाट करोडौँ रुपियाँ बर्सेनि भित्रिने गर्दछ । जडीबुटीकै कुरा गर्दा बहुउपयोगी फ्रेन्च बासिल अथवा बाबरी फूल’ का बारेमा केही जानौ ।
बाबरी फूलको वैज्ञानिक नाम ओसिमम बेसिलिकम हो । लेविएटीरलेसिएसी वानस्पतिक परिवारमा पर्ने यो ६० देखि ९० सेन्टिमिटरसम्म उचाइ हुने झ्वाम्म परेको तथा कडा गन्ध भएको बिरुवा हो । यसका पात साधारण किसिमका हुन्छन्।
यसका पात ३.७५ सेन्टिमिटरदेखि पाँच सेन्टिमिटर लामा, चिल्लो भएको र पात जोड्ने पेट्नो सानो तथा केही भागमा झुस भएको हुन्छ भने फूल ०.७२ देखि १.२५ सेन्टिमिटर लामा हुन्छन् । प्याजी रङका सुगन्धित फूल डाँठमा माथितिर कलिला र छिप्पिएका तलतिर रहेको हुन्छ । यसको बीउ दुई मिलिमिटर लम्बाइ भएका साना साना र कालो रङका हुन्छन् । यसको बीउलाई कात्तिकदेखि फागुनसम्म ठाउँ अनुसार सङ्कलन गर्न सकिन्छ ।
यसका प्रजाति प्राकृतिक रूपमा दुवै गोलार्र्धको तातो हावापानी भएको तथा समुद्र सतहदेखि १८ सय मिटरसम्मको उचाइमा पाइन्छन् । मुख्यतया यसका प्रजाति अफ्रिका, दक्षिण अमेरिका र एसियामा फैलिएका छन् । नेपालमा यो प्राकृतिक रूपमा पाइँदैन तर यसलाई खेती गरिएको हामी देख्न सक्छौँ । यसबाट प्राप्त हुने मुख्य रासायनिक तत्व च्याभिकोल र लिनालुल हुन् ।
यसको खेती नेपाललगायत दक्षिण पश्चिम एसिया तथा भारत, श्रीलङ्कामा गरिन्छ । भौगोलिक क्षेत्र अनुसार चार प्रकारका छन् स् युरोपियन स्विट बासिल, रियुनियन बासिल, मिथाइल साइनामेट बासिल, इयुगेनोल बासिल । नेपालमा युरोपियन स्विट बासिल खेती गरिँदै आएको छ ।
बाबरीको खेतीका लागि बलौटे, मलिलो र पानी नजम्ने माटो उपयुक्त हुने गर्दछ । तातो हावापानी भएको र प्रायः घाम लाग्ने ठाउँमा यसको खेती सप्रिन्छ । नेपालमा यसको खेती तराईदेखि पहाडी भागमा गर्न सकिने भए पनि तराई क्षेत्रमा बढी खेती गरिन्छ ।
बढी पानी पर्ने ठाउँ यसका लागि उपयुक्त मानिँदैन । वर्षातभन्दा अघि बाली लिन सक्ने गरी यसको खेती गर्नुपर्दछ । साउनपछि खेतबारीमा रहेका बिरुवामा पानीका कारणले पात च्यातिने, भुइँमा खस्ने भई बाली उत्पादनमा कमी आउने भएकाले माघ–फागुनदेखि साउन–भदौसम्ममा यो खेती गरी उत्पादन लिइसक्नु पर्छ । यो बिरुवा एक वर्षे बाली भएको हुँदा प्रतिवर्ष खेती गर्नुपर्ने हुन्छ र सोही अनुसार नर्सरी तयार गरी बिरुवा उत्पादन गर्नु पर्दछ ।
आवश्यक मलजल र खनजोत गरी तयार पारिएको जग्गामा चैत महिनाभित्र बिरुवा रोप्नु पर्दछ । बिरुवा रोप्नुभन्दा अगाडि खेती गर्ने जग्गामा डिल बनाई साना साना भागमा विभाजन गर्दा पछि सिँचाइलाई सजिलो हुन्छ । फ्रेन्च बासिल मुख्यतयाः सुक्खा समयमा खेती गरिने प्रजाति हो । त्यसैले यसको सिँचाइमा विशेष ध्यान दिनु पर्दछ । साथै बिरुवा रोपेको एक महिनापछि यसको गोडमेल गर्नु पर्दछ ।
बाबरीको बिरुवा रोपेको आठदेखि १२ हप्ताभित्र बाली उत्पादन लिन सकिन्छ । जतिबेला बिरुवामा सेता फल एकनासकै फल्न थाल्छन् र फेदका पात साधारण पहेँलो रङमा परिवर्तित हुन थाल्छन्, त्यसै समयलाई बाली लिन योग्य समय मानिन्छ । घाम लागेको दिन धारिलो हँसियाले जमिनभन्दा अलि माथिबाट काटी बाली सङ्कलन गर्न सकिन्छ । यसरी पहिलो बाली लिएपछि दोस्रो बाली २० देखि ३० दिनपछि लिन सकिन्छ । तेस्रो बाली लिँदा वर्षातको कारणले पात झर्ने र बढी पानी भएर बिरुवा मर्ने भएकाले तेस्रो बालीमा उत्पादन कम हुने गर्दछ ।
यसको पूरै बिरुवा वा फूलबाट मात्रै पनि तेल उत्पादन गर्न सकिन्छ । पूरै बिरुवा राखेर प्रशोधन गरी तेल निकाल्नेभन्दा फूलको माथिको भाग मात्र सङ्कलन गरी प्रशोधन गरेमा उच्च गुणस्तरको तेल प्राप्त गर्न सकिन्छ ।
बाबरी खाद्य र औषधीय दुवै रूपमा प्रयोग हुने गर्दछ । यसको जरा, काण्ड, पात, बीउ आदि सम्पूर्ण भाग उपयोगी हुन्छ । विभिन्न देशमा यसको तेल खाद्यवस्तु, चकलेट, चुइगम, सौन्दर्य प्रसाधनका वस्तु, साबुन, अत्तर, क्रिम, दन्तमञ्जन आदि बनाउनमा प्रयोग हुने गर्दछ । धेरै पकाइएका खाद्य पदार्थ, मासु, अचार, पेय पदार्थलाई सुगन्धित बनाउनसमेत यसको तेल प्रयोग हुने गरेको छ । यसलाई औषधीय रूपमा समेत प्रयोग गर्छन् । टाउको दुखेको, बाथरोग, सास गनाउने आदिको उपचारमा यसलाई प्रयोग गरिन्छ ।
पातबाट घाँटी, कान र छालासम्बन्धी रोगमा प्रयोग हुने औषधी बनाइन्छ भने महमा मिसाएर यसको पातको रस खानाले असाध्यै बिग्रिएको रुघा पनि निको हुन्छ । यसको बीउलाई पिसाब पोल्ने, कब्जियत, झाडापखाला, आउँ तथा पायल्सको उपचारमा प्रयोग गरिन्छ ।
निष्कर्षमा भन्नु पर्दा “बाबरी” फ्रेन्च बासिल विभिन्न आर्युवेदिक औषधी, तेल, खाद्यवस्तु, चकलेट, सौन्दर्य प्रसाधनका सामान, साबुन, अत्तर, क्रिम बनाउन प्रयोग हुने भएकाले यसको माग विश्वबजारमा बढ्दो छ । नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा हाम्रो देशमा फ्रेन्च बासिल “बाबरी”खेतीको प्रचुर सम्भावना रहेको छ ।