माघ ११
आज राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुदै छ ।
आगामी फागुन २१ गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो।
राष्ट्रिय सभा सदस्यको पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था अनुरूप आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिका छ। निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।
निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ
।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३, पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ। जस अनुसार प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ रहनेछ।