माघ २०
अहिले खाद्यवस्तुका अनेकन् विकल्प छन् । खाद्यविद्हरूका अनुसार संसारमा मुख्य तीन प्रकारका खाद्यवस्तुका स्रोत छन् । तीन हुन्, बोटबिरुवा वा फसलबाट उत्पादित खाद्यवस्तु जनावरको मासु, दूध–दही तथा अन्डा र प्रशोधित खाद्यवस्तु ।
यीमध्ये बोटबिरुवा वा फसलबाट उत्पादित खाद्यवस्तु नै मानव जातिका सबैभन्दा उपयुक्त खानेकुरा हो भनिन्छ । यिनीहरू नै साँचो अर्थमा जैविक खाद्यवस्तु हुन् । यस्ता खाद्यवस्तुका अनेकन् फाईदा छन् ।
जैविक खाद्यवस्तु ग्रहण गर्दा शरीरको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, क्यान्सरजस्ता घातक रोगको जोखिम कम हुने, शरीरको तौल सन्तुलित राख्न सहयोग पुग्ने, हृदयरोगको जोखिम कम हुनेजस्ता फाईदा मिल्छ भन्ने पोषणविद्हरूको भनाई छ ।
यसका अतिरिक्त जैविक खाद्यवस्तुमा औषधीय गुण पनि अन्तरनिहित छ । सही किसिमले सही खानेकुरा खाएमा खानेकुरा स्वयम् नै औषधि बन्छ, रोग लाग्दैन र औषधिको कुनै आवश्यकता पर्दैन । अर्को शब्दमा भन्दा उपयुक्त खानेकुरा उपयुक्त मात्रामा खाएमा त्यही स्वस्थ जीवन जिउने औषधि बन्छ । खानेकुरालाई औषधिका रूपमा उपयोग गर्ने पुरानो चलनलाई खाद्य औषधि भनिन्छ ।
एन्टिबायोटिक्सजस्ता आधुनिक औषधिको गलत प्रयोगले जनस्वास्थ्यमा अनेकौँ दुष्प्रभाव पारिरहेको बेलामा खाद्य औषधिको महत्व बढेर गएको छ । औषधिको गलत प्रयोगले जनधनको धेरै क्षति भएको बताईन्छ। अबको समयमा खाद्य औषधिको महिमा र गरिमा बढ्दै छ ।
आधुनिक समाजमा ‘अग्र्यानिक खाद्यवस्तु’ भनेर चिनिने जैविक खाद्यवस्तु नै मानव जातिका लागि पहिलो श्रेणीको उपयुक्त खाद्यवस्तु हो भन्ने तथ्य अघि नै आइसकेको छ । जनस्तरको लवजमा मिठोपिठो, साग–सिस्नु, ककरी–मकरी आदि नामले चिनिने अप्रशोधित खाद्यवस्तु नै साँचो अर्थमा जैविक खाद्यवस्तु हुन्, जो हामीले राम्रसँग नचिनेको वा हामीबाट अपहेलित अमृत हुन् भन्न सकिन्छ । यसका मुख्य जानकार हाम्रा अग्रहरु हुनुहुन्छ ।
हामीमा रैथाने खाद्यवस्तुप्रति प्रेमभाव विकास हुन आवश्यक छ । रैथाने जैविक बालीनाली चिन्न र तिनका व्यावहारिक उपयोगबारे जनचेतना जगाउन आवश्यक छ ।
गुणस्तरहीन खाद्यवस्तुको प्रभाव मन्द विषजस्तो गरी पैmलिएको सन्दर्भमा यस्तो कदम अत्यावश्यक भइसकेको छ । अब रैथाने प्रविधिमा आधारित जैविक खाद्यवस्तुको उत्पादन र उपभोग बढाउन प्रेरित तुल्याउने नीतिगत संरचना पनि आवश्यक छ । औषधिको सहारामा जीवन धकेल्नुपर्ने अवस्थाबाट मुक्ति लिएर हाम्रा जन, धन र मनलाई जोगाएर जीवनको लयमा लयबद्ध बनाउने योभन्दा अर्को कुनै सुन्दर र भरपर्दो उपाय छैन ।