वैशाख १७
प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन । निर्वाचन आयोगका अनुसार, आज बिहान १०ः४५ बजेसम्म २५ हजार ४५१ मत गणना भएको छ। यसमा एमालेका नेम्वाङले १० हजार ४१९ मत पाएका छन्।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ६२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले पाँच हजार ७५३ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू भने शुरूदेखि नै चौथो नम्बरमा छन्। उनले एक हजार ४५१ मत पाएका छन्। इलाममा ४० प्रतिशतभन्दा बढी मत गणना भएको छ। यो क्षेत्रमा ६९ हजार २८७ मत खसेका थिए।
यस्तै बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन्। भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८८० मत पाएका छन्।
यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ६६३ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत पाएका छन्। बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मत गणना हुन बाँकी छ।