असार २२
गुल्मीमा पहिरोले दुई घर भत्किएका छन भने आधा दर्जन भन्दा बढी सडक अवरुद्ध भएका छन् । विगत दुई दिनदेखि परेको बर्षाका कारण गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ ठाटिपौवा स्थित ४५ बर्षिया रुपा तमाटाको ढुङ्गा माटोले बनेको एक तले घर भत्किएको हो । घरधनी रुपालाई जिवितै उद्धार गरिएको छ । सत्यवती गाउँपालिका –३ मा गएराति रेशम पुलामीको घर भत्किएको छ । पहिरोले पुलामीको घर पूर्णरुपा क्षती गरेको छ भने मानविय क्षती भएको छैन ।
रुरुक्षेत्र गाउँपालिका ५ सालटारीमा स्थानिय चार जनाको घर गोठ पहिराको उच्च जोखिममा परेका छन । अबिरल बर्षका कारण घर नजिकै बाट पहिरोे गएकोले कृष्ण माझी, रिता माझी, मोहन माझीको घर र काहुलेका मन बहादुर रानाको गोठ पहिराको उच्च जोखिममा परेको वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले बताउनु भयो ।
घर गोठ जोखिममा परेकाहरुलाई गाउँपालिका बाट त्रिपाल उपलब्ध गराईएको र सुरक्षाको लागि थप सामान र सहयोगको तयारी गरिएको पनि वडा अध्यक्ष ज्ञवालीले बताउनु भयो ।
बर्षाले पहिरो जाँदा जिल्लामा आधा दर्जन भन्दा बढी सडक अवरुद्ध भएका छन् । रिडी–तम्घास सडक अन्तरगत रुरुक्षेत्र गाउँपालिका–०४ स्थित कालिमा मोडमा र बिरबासमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
त्यसैगरी मदन भण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारी सडक अन्तरगत धुर्कोट गाउँपालिका–५ मा पर्ने रोदी खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध भएको छ ।
सोही सडकको मालिका गाउँपालिका–७ मा पर्ने घमिर खोला र वडा नम्बर ६ को फुलवारी खोलामा पनि पानीको बहावका कारण बिहानैदेखि सडक अवरुद्ध छ । उक्त तीनै ठाउँमा समयमै पुल नबन्दा पानीको बहावले सडक अवरुद्ध भएको हो । उक्त ठाउँमा पुल भने हाल दुई पटक म्याद थप भई निर्माणाधिन अवस्थामा रहेका छन् ।
सत्यवती गाउँपालिका–६ स्थित उल्लिखोलामा पनि पानीको बहाव बढेर सडक पूर्णरुपमा अवरुद्ध भएको छ । त्यसैगरी सत्यवती गाउँपालिका–४ मा पर्ने रुद्रवेणी वामी सडकको नदेवा खोलामा पनि पानीको बहाव बढेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिए ।
त्यसैगरी चन्द्रकोट गाउँपालिका –८ स्थित टेलिमिल र मजुवा बजारमा पनि माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डका विभिन्न स्थानहरुमा पहिरो खसेर सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो ।
बर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा विद्युत सेवा पनि अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिकाका अधिकाशं वडा तथा सत्यवती गाउँपालिकाका वडा नम्बर १ र ६ मा विद्युत सेवा अवरुद्ध भएको छ ।
विरवास नजिकै रहेको विद्युतको डबल पोलमध्ये एउटा पोल मुनिको जमिन पहिरोले बगाएपछि थप जोखिम नहोस् भनेर विद्युत सेवा रोकिएको नेपाल विद्युत वितरण केन्द्र, गुल्मीका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए । उक्त ठाउँमा मदन भण्डारी राजमार्ग आयोजनाले सडक विस्तारको काम गरिरहेको छ ।
विरवासदेखि रिडीसम्म जोड्ने लाइनको पनि पोल जोखिममा परेका कारण विद्युत सेवा अवरुद्ध छ । प्राधिकरणका सूचना अधिकारी पोखरेलका अनुसार थप जोखिम हुन नदिन विद्युत सेवा रोकिएको हो ।
दुई ठाउँमा यसरी पोल जोखिममा पर्दा रिडीबाट पाल्पा जाने लाइन पनि अवरुद्ध भएको छ । तीन दिनदेखि परेको बर्षाका कारण मुसिकोट रातामाटा हुँदै जाने लाइनमा समस्या छ । बिग्रिएका सबै ठाउँमा प्राधिरणको टोली मर्मतका लागि पुगेको पोखरेलले बताए । तर मौसम खराबिले भने लाइन सुचारु गर्न समस्या भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले गुल्मीलाई बर्षाको उच्च जोखिमा राखेको छ । जसका कारण पनि सजकता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ ।