भदौ ३
आज जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्रधारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।
यसैबीच जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरूले तर्क गरेका छन् ।
ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो।
आजकै दिन आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।