भदौ ८
छत्रकोट गाउँपालिकाको वडा नं. ३ मा नवनिर्मित हर्दिनेटा स्वास्थ्य चौकि बाट अझै स्वास्थ्य सेवा सुरु हुन सकेको छैन ।
गत असारमा निर्माण ब्यवसायिले निर्माण सम्पन्न गरेर गाउँपालिकालाई बुझाए पनि बिभिन्न ब्यवस्थापकिय काम बाँकी रहेकोले नयाँ भवन बाट सेवा सुरु हुन नसकेको हो ।
पुरानो भवनमा रहेका फर्निचर र फर्निसिङ्गका सामान नयाँ भवनमा उपयुक्त ब्यवस्थापन नभएको र नयाँ खरिद गर्ने प्रक्रिया सुरु भएकोले नयाँ भवन बाट सेवा सुरु गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनु भयो । सोहि वडाका अध्यक्ष तेजकान्त अर्यालले गाउँपालिका अध्यक्ष बाहिर बाहिर रहेको र बर्षा पनि भई रहेकोले नयाँ भवन बाट सेवा सुरु गर्न नसकिएको बताउनु भयो ।
संघिय सरकारको बिशेष अनुदान अन्तर्गत बहुवर्षिय योजनाबाट निर्मित उक्त भवन रेसुगां दर्शन कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले निर्माण गरेको हो । १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी १ करोड ७१ लाख रुपैयाँमा सम्झोैता गरेर निर्माण सुरुगरेको निर्माण कम्पनीले समयमा नै काम सम्पन गरेको हो । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुसारको सुविधा सम्पन्न स्वास्थ्य चौकी बनेपछि यसबाट पाउने सेवा पनी थप हुने स्थानियको अपेक्षा छ ।
यो भवन निर्माण गर्न सोहि वडाका वडा अध्यक्ष तेजकान्त अर्यालले जग्गा निशुल्क प्रदान गर्नुभएको हो । अर्यालले निशुल्क प्रदान गरेको कुल साडे ३ रापनी जग्गामा स्वास्थ्य चौकी भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनुभयो ।
अहिले पुरानो गाबिस भवनबाट स्वास्थ्य चौकीले सेवा दिईरहेको छ ।