भदौ २८
गुणस्तरीय सामग्री उपभोग गर्न पाउने उपभोक्ताको हितलाई मध्यनजर गर्दै गुल्मीमा बजार अनुगमन गरिएको छ । घरेलुु तथा साना उध्धोग कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीले संयुक्त अनुगमन गरेका हुन् ।
बिहीबार मदाने गाउँपालिकाको वडा नम्बर ३ सिर्सेनी, वडा नम्बर २ बाँझकटेरी, मालिका गाउँपालिकाको वडा नम्बर ८ सिमलटारी, वडा नम्बर ४ अर्खबाङ्ग, वडा नम्बर ७ घमिर लगायतका पसलहरूमा अनुगमन गरिएको हो ।
गल्ला तथा किराना पसल, होटल, फेन्सी लगायतका गरि ५० पसलमा अनुगमन गरिएको घरेलु तथा साना उध्धोग कार्यालयका उध्म विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिए । अनुगमनको क्रममा कतिपय पसलहरू बिनादर्ता संचालन भएको, कतिपय पसलहरूको कागजपत्र नमिलेको, कतिपय पसलहरूले इजाजतपत्र नलिइकन मदिरा बिक्री वितरण गरेको पाइएको छ । अधिकांश पसलहरू तथा होटलहरूमा सरसफाइको अवस्था कमजोर देखिएकोले सुधारको लागि सुझाव दिइएको, कागजपत्र नमिलेको पसलको सन्दर्भमा मिलाउने सम्बन्धि विभिन्न परामर्श दिइएको कार्यालयका मिलन भण्डारीले बताए ।
अनुगमनको क्रममा वस्तु, म्यालपोखरी लगायतका ठाउँबाट म्याद नाघेका सामग्री जफत समेत गरिएको छ । जफत सामग्रीहरू प्रहरी र प्रशासनको रोहवरमा नष्ट गरिने कार्यालय प्रमुख राजिव अर्यालले जानकारी दिए ।
घरेलु तथा साना उध्धोग कार्यालयले मंगलबार पनि प्रशासन कार्यालयको समन्वयमा सदरमुकाम तम्घासका २० वटा पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा २४ हजार पाँच सय ८५ बराबरको म्याद गुज्रेका सामग्री जफत गरिएको थियो । कार्यालयले सदरमुकाममा मात्रै नभएर अझै केही दिन जिल्लाका सबैजसो ठाउँका पसलहरू अनुगमन गर्ने कार्यालय प्रमुख अर्यालले बताए ।
कार्यालयले बुधबार मदाने र धुर्कोट गाउँपालिबामा अनुगमन गरेको थियो । नियमविपरीत व्यवसाय संचालन गर्ने वा प्रक्रिया नपुर्याइ व्यवसाय संचालन गर्नेलाई पहिलो पटकमा सम्झाएको र दोस्रो पटक पनि सोही गल्ती दोहोर्याए नियमअनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्देलले जानकारी दिए ।‘