रुरुक्षेत्र गाउँपालिका गुल्मीको तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई सम्पन्न
असार २०
रुरुक्षेत्र गाउँपालिका गुल्मीले तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले गाउँपालिकाको बित्तिय प्रगति तथा योजना कार्यान्वयनको अवस्थाको जानकारी सहितको प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो ।
गाउँपालिकाको हाल सम्मको बित्तिय प्रगति ८० प्रतिशत भएको र केही योजनाको भुक्तानी प्रक्रियामा रहेकोले बित्तिय प्रगति बढ्ने बिस्वास ब्यक्त गर्नु भयो ।
पछिल्लो समय सामाजिक संजालमा पालिकाका पदाधिकारी लक्षित तथ्यहिन बिषय सार्वजनिक गरि समग्र रुरुक्षेत्र गाउँपालिकाको प्रतिष्ठामा आँच पुर्याउने कार्य भएकोमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।
पालिकामा माध्यमिक बिद्यालयमा स्मार्ट बोर्ड जडानको बिषयमा जानकारी गराउदै सामान खरिदको लागि सम्बन्धित बिद्यालयलाई नै कार्यपालिकाको निर्णय बमोजिम अख्तियारी दिईएको र विद्यालयले खरिद प्रकृया संचालन गरेको अवस्थामा ब्यवसायिक प्रतिस्पर्धा कारण बोलपत्रको समय नसकिदै व्यापारीले स्मार्ट बोर्ड जडान गरिदिएको जानकारी कार्यालयलाई प्राप्त भए पश्चात उक्त सामग्री तत्काल फिर्ता गर्न विद्यालयलाई निर्देशन दिएको र यसमा कुनै पनि भुक्तानीको प्रक्रिया अगाडी नबढेको उहाले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कार्यक्रमको सुभारम्भ गर्दै, पछिल्लो समयमा पूर्वाग्रपूण ढंगले समाजिक संजालमा आएका अनाधिकृत बिषयको भ्रममा नपर्न आग्रह गर्दै तथ्थ सहित पालिकाका पदाधिकारीको अनियमितताको बिषय कोही कसैले ल्याए आफै पनि दण्डकोभगी बन्न पछि नपर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाले अनियमितता भएको भए तथ्य दिई सहयोग गर्न समेत आग्रह गर्नु भयो ।
यस्तै श्रृङ्गेश्वर धामको समिति गठनका बिषयमा वडा नं. ४ का अध्यक्ष मोतीप्रसाद श्रेष्ठले, धामको समिति गठनका क्रममा भएका घटनाक्रम बताउदै वडा नं. ४ का जनप्रतिनिधिहरुको रोहबरमा समिति गठन गरिएको बताउनु भयो । उहाले आफ्ना तर्कहरु आंसिकमात्र सार्वजनिक भएको गुनासो गर्दै धर्मिक्षेत्रको बिषय सर्वपक्षि बनाउन गरिएको प्रयासलाई राजनैतिकरुप दिने प्रयास भएको बताउनु भयो ।
कार्यक्रममा सहभागी मध्ये २८ जना बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुले स्मार्ट बोर्ड जडान, श्रृङ्गेश्वर धामको समिति गठन, धामको कुटी हटाईएको बिषय,मदन भण्डारी राजमार्ग निर्माणका कारण गाउँपालिकाको बिभिन्न स्थानमा भएका क्षति, खानेपानी, मोटरबाटो लगायतका १ सय ५० बढी जिज्ञासा राखेका थिए ।
उठेका जिज्ञासा तथा प्रश्नको बिषयगत समितिका पदाधिकारी तथा शाखा प्रमुखहरुले जवाफ दिनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकार जनार्दन घिमिरे र टोपलाल अर्यालले गर्नु भएको थियो ।