माघ २७
स्थानीयद्धारा गाउँपालिकालाई करोडौंको जग्गा निशुल्क
गुल्मीमा एक गाउँपालिकाको प्रशाासनिक भवन बनाउनको लागि स्थानीयहरुले करोडौं मुल्य पर्ने जग्गा निशुल्क प्रदान गरेका छन् ।
जिल्लाको चन्द्रकोट गाउँपालिकाको प्रशासनिक भवन बनाउनको लागि गाउँपालिकाको केन्द्र शान्तिपुरका स्थानीयले संयुक्त रुपमा आठ रोपनी जग्गा प्रदान गरेका हुन् । चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुर बजारका स्थानिय नुमकला अर्याल,वालजंग अर्याल, बाबुराम अर्याल,ज्ञानु अर्याल,प्रविन अर्याल,कमल अर्याल र प्रकाश अर्याल गरी अर्याल परिबारबाट पाँच रोपनी साथै उत्तम खत्रीबाट एक रोपनी,देब बहादुर कुवँर बाट एक रोपनी र टेक बहादुर गलामी बाट एक रोपनी गरी जम्मा आठ रोपनी जग्गा गाउँपालिकालाई निशुल्क रुपमा प्रदान भएको गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले बताउनु भयो ।
उहाका अनुसार यो जग्गाको मुल्य करोडौं रहेको छ । उक्त जग्गा गाउँपालिका अध्यक्ष खत्रीको पहलमा गाउँपालिकाको कार्यालय बनाउन प्रदान गरिएको जग्गादाताहरुले बताएका छन् । कार्यालय बनाएपछि जग्गादाताहरुको नाम थर शिलालेखमा लेखिने गाउँपालिका अध्यक्ष द्रोण खत्रीले बताउनु भयो ।
जग्गादातालाई एक कार्यक्रममा बिचमा सम्मान समेत गरिने चन्द्रकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कार्यालय बनाउनको लागि केन्द्रले प्रस्ताव मागेका कारण फागुन २७ गते सम्म आफुले कार्यालय बनाउने जग्गा देखाउनुपर्ने भएकोले गाउँपालिका अध्यक्ष खत्रीले आफ्नै पहलमा सोही जग्गाको माग गरेकोले स्थानीय जग्गादाता समेत खुसी हुदै आठ रोपनी जग्गा निशुल्क रुपमा दिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्ष खत्रीका अनुसार यसबर्ष नै सोही ठाउँमा गाउँपालिकाको बहुउद्देश्यीय सभाहल बनाइने छ । भवनको लागि पनि सरकारसँग माग गरेर सकेसम्म छिट्टै पहल गरिने उहाको प्रतिक्रिया छ ।
स्थानीय जग्गादाताहरुले स्थानीय सरकार स्थायित्व गर्न जुन तरिकाले सहयोग गरेका छन् त्यसप्रति बिशेष आभार प्रकट गर्दै गाउँपालिका सधै जनताको हकहितका लागि काम गरिरहेको अध्यक्ष द्रोण खत्रीले बताउनु भयो ।