स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको हो । बाग्लुङको निसिखोला गाउँपालिका ३ का २९ वर्षीय पुरुषको २१ गते क्वरेण्टीनमा मृत्यु भएको हो ।
भारतबाट क्षयरोगको उपचार गराएर फर्किनुभएका उहाँको ढोरपाटन नगरपालिकाको क्वरेण्टीनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।
सोमबार नेपालमा थप एक सय ८० जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार नौ सय ६४ पुगेको छ । काठमाण्डौ उपत्यकामा मात्रै सोमबार ५४ जना सङ्क्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाण्डौमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा सङ्क्रमण देखिएको छ ।
सोमबार दुई सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म सङ्क्रमणमुक्त भएर ६ हजार आठ सय ११ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो ।