अर्घाखाँची – गोरूसिंगे सन्धिखर्क सडक खण्डको सितगंगा र सन्धिखर्क नगरपालिकाको सीमाक्षेत्रको अग्ला पहाडको खोचमा अवस्थित सुपादेउराली मन्दिर प्रदेश ५ को धार्मिक आस्थाको प्रमुखस्थल बन्दै गएको छ।
मुलुकी ऐनअनुसार, वैशाखे पूर्णिमा अर्थात् बुद्जयन्तीका दिन बलिपूजा गर्न नपाइने भने पनि यसैदिन ठकुरी, कब्दार र खड्काको कुलपूजा पर्ने कारण उनीहरूलाई छुट दिएको मन्दिर व्यव्थापन समितिका अध्यक्ष प्रितम थापाले बताए।
उक्त दिन कम्तीमा १ सय ५० देखि ३ सय बढी बोका चढाइन्छन्। सुरुका दिनहरूमा वर्षको १ पटक अर्थात् वैशाखे पूर्णिमाका दिन मात्रै पूजा गरिने यो स्थानमा २०४० सालमा स्थानीय बाबुराम रायमाझीले सामान्य मन्दिर निर्माण गरेपछि पूजा सुरु हुन थालेको हो।
परम् पूजनीय गुरु श्री नरनारायण बाबा आश्रम सेवा संस्थाको सहयोगमा ०६४ मङ्सिर ८ गते यो मन्दिर पुन र्निर्माणका लागि शिलान्यास भई ०६५ भदौ २३ गते प्राचीन शैलीमा ऐतिहासिक मन्दिर सम्पन्न भएको हो।
परम् पुजनीय गुरु श्री नरनारायण बाबा आश्रम सेवा संस्थाले रु १ करोड २५ लाख र मन्दिरको तर्फबाट १५ लाख खर्च गरी मन्दिर निर्माण गरिएको हो। अहिले यस मन्दिरको महत्व झन बढ्दै गएपछि दर्शनार्थीको संख्या पनि बढ्दै गएको छ।
यो सडकमा चल्ने सबै सवारीका गाडीहरू मन्दिरमा भेटी नचढाईकन अगाडि बढ्दैनन्, आफू अप्ठ्यारोमा परेको समय वा मनोकामना पूरा गर्नुछ भने यो मन्दिरलाई सम्झिएमा वा भाकल गरेमा पूरा हुने कुरामा जनविश्वास रहिआएको छ। नेपालका विभिन्न स्थानमा यो मन्दिरका शाखाहरू निर्माण गरिएको छ।
मन्दिरमा उठेको भेटीबाट श्री आदर्शमाबी खाँचीकोट र शान्ति निमावि सीतापुर गरी दुईवटा विद्यालय सञ्चालन गरिएको छ।
पहरामा टाँसिएको लाहुरेको चित्र र उसले बोकेको ब्याग छर्लंग देख्न सकिन्छ। यसको आफ्नै कथा छ। एकजना बाटो हिँड्ने युवकले ‘देवी म लाहुरे सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक म घरमा आउँदा मैले भाकल गरेको चढाउनेछु,’ भनी भाकल गर्यो र ऊ भर्ती पनि भयो। केही समयपछि लाहुरे छुट्टीमा फर्कियो।
लाहुरेले भाकल पूरा नगरी बाटो छलेर जान लाग्दा लाहुरे पहरामा टाँसिएको दृष्य अहिले पनि हामीले देख्न सक्ने स्थानीय बताउँछन्।