मौसम परिवर्तनसँगै उत्पन्न हुने मौसमी ज्वरोबाट बालबालिका लाई जोगाउन इन्फ्यून्जा खोप ।
नवजात शिशु तथा बालरोग विशेषज्ञ डाहरुले ले बालबालिकालाई मौसमी ज्वरो (भाइरल फिबर) बाट जोगाउन खोप लगाउनुपर्ने सल्लाह दिएका छन।
एउटा खोप लगाए वर्ष दिनसम्म त्यसले काम गर्ने हुँदा बालबालिकालाई मौसरी ज्वरोबाट जोगाउन उक्त खोप लगाउनुपर्ने डाक्टर बताउँछन्।
आठ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रत्येक वर्ष इन्फ्यून्जाको एउटा खोप लगाए कुनै पनि मौसम परिवर्तनसँगै उत्पन्न हुने मौसमी ज्वरोबाट जोगाउन सहज हुने बालरोग विशेषज्ञ डाक्टरहरुले बताएका छन ।
पाँच वर्ष भन्दा कम उमेरका बालबालिका भए दुई डोज लगाउनुपर्ने हुन्छ। पहिलो खोप लगाएको २८ दिनपछि अर्को बुष्टर डोज लगाउनुपर्छ भन्छन बालरोग विशेषज्ञ डाक्टरहरु ।
त्यस्तै ६० वर्ष माथिका ब्यक्तिलाई समेत इन्फ्यून्जाको खोप लगाउँदा राम्रो हुने बताइन्छ।
बालबालिकालाई भिडमा नलैजाने, घर बाहिरको खानेकुरा खान सकभर नदिने, पटक पटक साबुन पानीले हात धुने, मास्क लगाउने जस्ता काम गरे आफू र बालबालिकालाई जोगाउन सहज हुने गर्दछ।
बालरोग विशेषज्ञका अनुसार मौसम परिवर्तनसँगै गर्मी र जाडोयाममा इन्फ्यून्जा नामक भाइरस सक्रिय हुँदा त्यसैबाट भाइरल फिबर हुनेगर्छ।
भाइरल फिबर भएमा बालबालिकालाई ज्वरो आउने, नाकबाट पातलो सिँगान बग्ने, स्वासप्रश्वासमा समस्या हुने तथा स्याँ–स्याँ बढ्ने, निमोनिया हुने, वान्ता हुने, पेट फुल्ने, पखाला लाग्ने जस्ता बिभिन्न समस्या देखिने गर्छन्।
भाइरल ज्वरोका बालबालिकालाई देखिएको लक्षण अनुसार उपचार गर्न आवश्यक हुन्छ।
जस्तो ज्वरो आएको छ भने सिटामोल दिने, पखाला लागेको छ भने शरीरमा पानीको मात्रा कम हुन नपाओस् भनेर झोलिलो पदार्थ धेरै खान दिने, वान्ता भइरहेको छ भने वान्ता रोक्ने औषधि, श्वासप्रश्वासको समस्या भए अक्सिनको आवश्यकता पर्न सक्ने, स्याँ–स्याँ वा घ्यारघ्यार भइरहेको छ भने बाफहरु दिनुपर्ने हुनसक्छ।
बिरामी बच्चाको अवस्था हेरेर कोही बच्चालाई तीनदेखि पाँच दिनसम्म तथा बढीमा सातदेखि दश दिनसम्म मौसमी ज्वरोका लक्षण देखिने गर्छन्।
मौसमी ज्वरोका लक्षण देखिन साथ अभिभावक नआत्तिएर लक्षण अनुसार प्राथमिक उपचारमा लाग्नु उपयुक्त हुन्छ। जस्तो ज्वरो आएको छ भने बालबालिकालाई पानी पट्टी लगाउने, एक सय डिग्रीभन्दा बढी ज्वरो भए सिटामोलको झोल दिन सकिन्छ।
एकदमै धेरै ज्वरो छ, बच्चालाई बढी स्याँ–स्याँ भइरहेको, कोखा हानिरहेको छ, छिटो छिटो स्वासप्रश्वास भइरहेको छ, शरीर काँपीरहेको छ, पेट फुलेको छ, आँखा र तालु गडेको छ, बच्चाले राम्रोसँग आमाको दूध चुसिरहेको छैन भने तुरून्तै नजिकैको स्वास्थ्य चौकी वा अस्पताल पुर्याई बालरोग विशेषज्ञलाई देखाउन पर्छ।
भाइरल ज्वरो लागेपछि समयमै उपचार नपाउँदा थप जटिलता बालिबालिकामा उत्पन्न हुने खतरा रहन्छ। भाइरल ज्वरोले बालबालिकाको रोगसँग लड्न सक्ने शक्ति घटाउन सक्छ, इन्फेक्सन हुनसक्छ, निमोनिया हुनसक्छ।
समयमै उपचार नपाउँदा पखालाका कारण शरीरमा पानीको मात्रा कम हुन गइ बच्चाको ज्यानसमेत जान सक्ने खतरा रहन्छ। मौसमी ज्वरोबाट मस्तिष्क ज्वरोसमेत हुने खतरा रहन्छ।
यस्तो भाइरसको संक्रमण मौसम परिवर्तन हुने समय चैत, वैशाख, जेठ, मंसिर, पुस र माघजस्ता महिनामा बढी हुने गर्दछ ।